नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा चलेका सामाजिक सञ्जालहरु दर्ता नभएका कारण अनुसन्धानमा चूनौति देखिएको बताउनुभएको छ ।
बिहीबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा महानिरीक्षक कार्कीले फेसबुक, इन्स्टाग्राम लगायतका विदेशी सामाजिक सञ्जालहरु नेपालमा दर्ता नहुदा अनुसन्धानमा चूनौति देखिएको बताउनुभएको हो । उहाले सामाजिक सञ्जालबाट समयमा नै जानकारी प्राप्त गर्न नसक्दा र आपत्तिजनक सामग्री हटाउने प्रक्रियामा स्पष्ट कानुनी व्यवस्था नहुदा क्षति नियन्त्रणमा ढिलाई हुने गरेको धारणा राख्नुभयो । अहिले प्रहरी अधिकारीहरुले व्यक्तिगत सम्बन्धका आधारमा सामाजिक सञ्जाल प्रदायकसंग आवश्यक डाटा प्राप्त गरिरहेको उहाको भनाइ छ । कार्कीले प्रहरीको तीन बर्षे रणनीति योजना छिटै सार्वजनिक गर्ने र त्यसमा साइबर बुलिङका बिषयमा स्पष्ट नीति ल्याइने जानकारी दिनुभयो । पीडितहरुको गोपनियतालाई समेत ख्याल गर्दै साइबर बुलिङका घटनाको अनुसन्धानलाई प्राथमिकतामा राखिएको उहाले बताउनुभयो ।
उहाले साइबर सम्बन्धी बिषयहरुलाई पहिले काठमाडौंबाट मात्रै अनुसन्धान हुने गरेकोमा अहिले काठमाडौं बाहिरबाट पनि अनुसन्धान हुने गरेको बताउनुभयो । महानिरीक्षक कार्कीले प्रहरीको साइबर व्युरोमा गत बर्ष १८ हजार ९ सय २६ उजुरी परेकामा यस आर्थिक बर्षको ९ महिनामा मात्रै झण्डै १५ हजारको संख्यामा उजुरी दर्ता भएको जानकारी दिनुभयो । बैठकमा समिति सदस्यहरुले साइबर सुरक्षालाई प्रभावकारी बनाउन सामाजिक सञ्जालको नियमनसम्बन्धी नीति निर्माण प्रक्रियालाई अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।



