नेपालका बरिष्ठ उद्योगपति शेखर गोल्छा बिहिवार पक्राउ परेका छन् ।गोल्छा अर्गेनाइजेशनका अध्यक्ष एवं प्रबन्ध निर्देशक रहेका गोल्छालाई सीआईबीको टोलीले पक्राउ गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई अनुसन्धानको क्रममा पक्राउ गरिएको सीआईबीले पुष्टि गरेको छ । नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको सीआईबी प्रवक्ता समेत रहेका एसएसपी शिव कुमार श्रेष्ठले जनाएका छन् ।
नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा गोल्छासमेतको मिलेमतोमा धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा -१) र दफा ९८ बमोजिम कसूरमा उनलाई पक्राउ गरिएको प्रवक्ता श्रेष्ठले जनाएका छन् । बिभिन्न बीमा कम्पनीको फन्ड विभिन्न कम्पनीको सेयरमा चलखेल गर्नका लागि प्रयोग हुने गरेको प्रतिवेदन नेपाल धितोपत्र बोर्डले तयार पारेको थियो । सो प्रतिवेदनको आधारमा नै ५९ वर्षिय गोल्छालाई काठमाण्डुको नक्सालबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
गोल्छालाई पक्राउ गर्न जिल्ला अदालत काठमाण्डुले पुर्जी दिएको र अनुसन्धानका लागि बिहिबार नियन्त्रणमा लिएको ब्युरोले जनाएको छ । ब्युरोका अनुसार धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष गोल्छा पक्राउ परेका हुन् ।
नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष गोल्छा समेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा -१) र दफा ९८ बमोजिम कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८३ ब्युरोमा प्राप्त हुन आएकोमा जिल्ला अदालतबाट अनुमति लिएर उनलाई पक्राउ गरिएको हो ।
यस अघि नै विवादित व्यवसायी दिपक भट्टले व्यक्ति तथा निजी कम्पनीहरुबाट सस्तोमा सेयर खरिद गरी त्यसको मूल्य अत्यधिक बढाएर विभिन्न बीमा कम्पनीहरुलाई बिक्री गर्ने गरेको देखिएको बोर्डको प्रतिवेदनमा उल्लेख छ । गडबडीका प्रमुख पात्रका रुपमा भट्ट र भृकुटी स्टक ब्रोकिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत संदिप चाचान रहेको अनुसन्धानबाट देखिएको छ । उनीहरुले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९६ र ९८ अनुसार धितोपत्र बजारलाई प्रभावित पार्ने तथा जालसाजी युक्त कारोबारसम्बन्धी कसुर गरेको बोर्डको निष्कर्ष छ ।
भट्टलाई यसअघि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गरी हिर ासतमा राखेको छ । नेपालमै रहेपनि चाचान पक्राउ परेका छैनन् । धितोपत्र गडबडीमा सहयोगी भूमिका हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन क्यापसर्ब लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, हिमालयन सेक्युरिटिज बैंकर लिमिटेड, एचएलआई लार्ज क्याप फन्ड, रोहित गुप्ता र शेखर गोल्छा रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।
अनुसन्धानमा शुभी अग्रवाल, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, ऋषिराज मोर, र राजबहादुर शाहसमेत नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर मूल्य बढाउने कार्यमा संलग्न रहेको बोर्डको अनुसन्धानले देखाएको छ । बोर्डले यी व्यक्ति तथा संस्थामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा सिफारिस गरेको थियो ।
गोल्छालाई अनुसन्धानले सहयोगी रहेको उल्लेख गरेको छ ।अनुसन्धानमा गोल्छाको नाम खुले लगतै अध्यक्ष पदबाट उनले राजिनामा दिएका थिए । हिमालयन रिइन्स्योरेन्स लिमिटेडका अध्यक्षबाट उनले राजिनामा दिएपनि अनुसन्धानको क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । शुभी अग्रवालको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा हाल हिरासतमा रहेका सुलभ अग्रवालकी शुभी अग्रवाल श्रीमती हुन् ।
सुलभ हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर खरिद गर्नेहरुमा अर्थ मन्त्रालयका सचिव, निवर्तमान गृह मन्त्री सुधन गुरुंग लगायतका प्रभावशाली व्यक्तिहरु रहेका छन् । ।गुरुंगलेपनि त्यो शेयरको प्रमाण सहित बचाउ गर्न नसकेपछि राजिनामा दिन बाध्य भएका थिए । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको शेयर खरिदमा रहेका अधिकारी लगायत उद्योगी, व्यवसायीहरु समेत अनुसन्धानको दायरामा रहेको उच्च प्रहरी स्रोतले जनाएका छन् ।
सम्पत्ति शुद्धीकरणमा रहेका भट्टलाई समातेर थप अनुसन्धान थालेको प्रहरीले अझै धेरै जनालाई छानविनको दायर ामा ल्याउने देखिएको छ ।



