रौतहट प्रहरीले भन्सार छली गरेर भित्र्याइएका साढे ३२ क्विन्टल तोरी–सरसोसहित एक पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिएको छ।
ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको टोलीले मौलापुर–३ मा गरेको चेकजाँचका क्रममा ज १ च १३४३ नम्बरको पिकअप गाडीमा भारतबाट अवैध रूपमा ल्याइएको २ हजार ९ सय किलो तोरी र ३ सय ५० किलो सरसो फेला पारेको हो।
उक्त गाडीका चालक सर्लाहीको लालबन्दी नगरपालिका–७ निवासी २५ वर्षीय पवन साहलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिए।
प्रहरीका अनुसार भन्सार प्रक्रिया छल्दै ल्याइएको करिब ३ लाख ९० हजार रुपैयाँ बराबरको तोरी–सरसो र झण्डै २० लाख रुपैयाँ मूल्यको पिकअप गाडी जफत गरिएको छ।
यसैबीच, छुट्टै कारबाहीमा दुई ग्यालेनमा राखी अवैध रूपमा नेपालतर्फ ल्याइँदै गरेको करिब १० हजार ५ सय ३० रुपैयाँ बराबरको डिजेल र बिआर ०५ एल ४५६० नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ। मोटरसाइकलको मूल्य करिब ५० हजार रुपैयाँ आँकिएको छ।
डिएसपी बस्यालका अनुसार, कुल २४ लाख ५० हजार ५ सय ३० रुपैयाँ बराबरको अवैध सामान, सवारी साधन र संलग्न व्यक्तिलाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय, रौतहटमा बुझाइएको छ।



