परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र सम्बन्ध र कूटनीतिक आचरणलाई व्यवस्थित गर्नेतर्फ वर्तमान सरकार क्रियाशील रहेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तारकेश्वर नगरपालिका–१० ले शनिबार (वैशाख १२) मनमैजुमा आयोजना गरेको कार्यक्रममा उनले कूटनीतिक आचरण प्रधानमन्त्री, मन्त्री र सार्वजनिक पदधारण गरेका व्यक्ति सबैलाई समान रूपमा लागु गर्न आफूहरू लागिपरेको बताए ।
“प्रधानमन्त्री, मन्त्रीलगायत सबैलाई कूटनीतिक आचरण समान रूपमा लागु गर्नका लागि हामीले तालिमको व्यवस्था गरेका छौँ,” कूटनीतिक नियम सबैले पालना गर्नुपर्नेमा जोड दिँदै परराष्ट्रमन्त्री खनालले भने ।
फरक प्रसंगमा उनले सरकारले सुशासन र आर्थिक समृद्धिका पक्षमा काम गरिरहेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रानुसार सुशासन र समृद्धिका निम्ति सरकारले काम गरिरहेको उनले उल्लेख गरे ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएर सरकार अगाडि बढिरहेको उनले बताए ।


