२०८३ बैशाख १४, सोमबार ०६:३०

पर्सा जिल्लामा अतिक्रमणविरुद्ध प्रशासनले शुरु गरेको अभियान अन्तर्गत आइतबार पहिलो दिनमै सयौँ संरचना भत्काएर हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा सञ्चालन गरिएको अतिक्रमणमुक्त अभियानले गण्डक नहर क्षेत्रदेखि गुठी संस्थानको जग्गासम्म व्यापक रूपमा अतिक्रमण हटाएको छ । प्रशासनले बिहानैदेखि डोजर परिचालन गरी गण्डक नहर क्षेत्रलाई अतिक्रमणमुक्त बनाउने अभियान सुरु गरेको थियो ।

नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगञ्जका सूचना अधिकृत इञ्जिनियर सुरेश साहका अनुसार पहिलो दिनमै ३२५ वटा भौतिक संरचना हटाइएको छ । उनका अनुसार अभियानमा चार वटा डोजर प्रयोग गरिएको थियो—नारायणी सिँचाइ व्यवस्थापन कार्यालय र यान्त्रिक सिचाइँ व्यवस्थापन कार्यालयका एक–एक तथा स्थानीय तहका दुई डोजर जगरनाथपुर गाउँपालिकास्थित नेपाल प्रवेश विन्दुदेखि सखुवा प्रसौनीको महुवनसम्म तथा वीरगञ्जको गण्डक चोकदेखि महुवन चोकसम्म फैलिएका अतिक्रमित संरचनाहरू हटाइएका हुन् ।

इञ्जिनियर साहले पछिल्ला वर्षहरूमा नहर क्षेत्र अतिक्रमण तीव्र रूपमा बढ्दै गएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि यस्तो अभियान अपरिहार्य भएको बताए। प्रशासनले तीन दिनअघि नै सार्वजनिक सूचना जारी गरेर अतिक्रमण हटाउन निर्देशन दिएको थियो, जसअनुसार केही संरचना स्थानीयले आफैं हटाएका थिए।

त्यस्तै सखुवा प्रसौनी गाउँपालिका–५ महुवनस्थित पारसनाथ महादेव मठ क्षेत्रको गुठी संस्थानको जग्गामा समेत ठूलो परिमाणमा अतिक्रमण हटाइएको छ। करिब ५ बिघा ६ कठ्ठा क्षेत्रफलमा फैलिएको उक्त जग्गामा निर्माण गरिएका घर, टहरा लगायतका संरचनाहरू डोजर लगाएर भत्काइएको छ ।

गाउँपालिका अध्यक्ष जसवन्त यादवका अनुसार मधेस प्रदेशका गृहमन्त्री फकिरा महतोको प्रत्यक्ष निर्देशनमा सात वटा डोजर परिचालन गरी अभियान तीव्र बनाइएको थियो। यस क्रममा मठको जग्गा अतिक्रमण गरी बनाइएका करिब ३८० घरटहरा हटाइएको उनले जानकारी दिए । यसअघि नै गाउँपालिका र गुठी संस्थान वीरगञ्जले छुट्टाछुट्टै सूचना जारी गर्दै अतिक्रमण हटाउन आग्रह गरे पनि त्यसको कार्यान्वयन हुन सकेको थिएन। तर यसपटक प्रदेश सरकारको निर्देशन र सुरक्षाकर्मीको सक्रियतामा अतिक्रमण हटाउने काम प्रभावकारी रूपमा अघि बढाइएको अध्यक्ष यादवको भनाइ छ ।

अध्यक्ष यादवले महुवन क्षेत्रमै गुठीको थप २९ बिघा अतिक्रमित जग्गा पनि खाली गराउने प्रक्रिया जारी रहेको बताए । जिल्ला प्रशासन कार्यालयका अनुसार अभियानलाई सोमबारदेखि बारा जिल्लातर्फ विस्तार गरिनेछ। पहिलो दिनको अभियान शान्तिपूर्ण रूपमा सम्पन्न भएको र कुनै अवरोध नआएको प्रशासनले जनाएको छ ।

Comment


Related News