इन्धनजन्य तथा निर्माण सामग्रीको निरन्तर मूल्यवृद्धिले निर्माण क्षेत्र गम्भीर संकटमा परेको छ । मधेश प्रदेशका प्रत्येक जिल्लाका अधिकांश निर्माण व्यवसायीहरुले कामकामज ठप्प पारेका छन् ।
निर्माण व्यवसायी महासंघ मधेश प्रदेशले आइतबार एक पत्रकार सम्मेलन आयोजना गरी मूल्यवृद्धिका कारण पूर्वाधार निर्माण कार्य नै ठप्प हुने अवस्था सिर्जना भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । डिजेल, पेट्रोल, मट्टितेल लगायतका इन्धनको मूल्य निर्माण क्षेत्रमा प्रयोग हुने कंक्रिट सामाग्री बालुवा, गिट्टी, सिमेन्ट, फलाम, छड र माटो समेत अत्यधिक मूल्यवृद्धि काम गर्न समस्या भएको भन्दै अधिकांश निर्माण व्यवसायीले करीब दुई सातादेखि अनौपचारिक रुपमा कामकाज ठप्प नै पारेका छन् ।
सरकारले ठेक्का म्याद थप सहित मूल्य समायोजन वा ठेक्का पुनरावलोकन नगरे औपचारिक रुपमा कामकाज ठप्प गरी संकटमा पर्ने चेतावनी दिए । ‘मूल्यवृद्धि र सामग्री अभावका कारण निर्माण उद्योग धराशायी हुने जोखिम बढेको छ,’महासंघका अध्यक्ष सुरेन्द्र चौधरी ‘मुन्ना’ भने । अध्यक्ष चौधरीले मूल्य समायोजन, ठेक्का पुनरावलोकन र म्याद थप सहितको माग सहित सोमवार मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई ज्ञापन पत्र बुझाउने छौं । हामीहरुको माग सम्बोधन नभए औपचारिक रुपमै कामकाज ठप्प पार्ने चेतावनी दिए ।
निर्माण व्यवसायी संघ धनुषाका अध्यक्ष अशोक चौधरीले भने डिजेल, पेट्रोल लगायतका इन्धनको मूल्यवृद्धिले हरेक पूर्वाधार निर्माण कार्यका हरेक सामाग्री सिमेन्ट, बालुवागिट्टीदेखि डण्डीसम्मको मूल्य अकाशिएको छ । पुरानै दररेटमा ठेक्का लिएका निर्माण व्यवसायीहरु कसरी काम गर्ने समस्या परेको छ । उनले थप्दै भने ‘यदि पुरानै दररेटमा काम गरियौं भने घरघडेरीसम्म बेचेर पनि पुग्दैन, सम्झौता अनुसारको काममा कन्ज्युसयाई गरे भने अख्तियारले समात्ला, सरकार मूल्य समायोजन गरिरहेको छैन, यस्तो अवस्थामा हामी के गर्ने निकै समस्या भएको छ । मूल्य समायोजन वा नयाँ दररेटको हिसाबमा भुक्तानी गरे हामी कामकाज गर्नेछौं नभए औपचारिक रुपमा काम नै ठप्प पार्ने चेतावनी दिए । उनले भने ‘सोमवार जिल्ला दररेट समितिको बैठक राखेका छौं । मूल्य समायोजन नभए हामी कामकाज ठप्प पार्नेछौं । यता निर्माण व्यवसायी अरुण साह ‘मुन्ना’ ले पूर्वाधार निर्माण सामाग्रीको मूल्य अकासिएको छ ।
१५ हजार टिपर पाइने बालुवा अहिले २५ हजारभन्दा माथिको रेटमा किन्नु परिरहेको छ । ७५० रुपैया पर्ने सिमेन्ट अहिले ८५० देखि ९५० रुपैयासम्म पुगेको छ । डण्डीमा समेत किलोमा १० रुपैयाभन्दा बढी बढाएको छ । दररेट चाहिं पुरानै ठेक्का भएका कारण १४७ मा हामी लिएका छौं, यस्तो अवस्थामा काम गर्न सहज नभएकाले दुई सातादेखि काम ठप्प पारेका छौं ।
समस्या समाधानका लागि व्यवसायीहरूले निर्माण सामग्री तथा इन्धनको मूल्यवृद्धि अनुसार ठेक्का रकम समायोजन गर्ने स्पष्ट निर्देशिका जारी गर्न, राहत प्याकेज ल्याउन तथा बैंक ग्यारेन्टी र बिमामा सहुलियत दिन सरकारसँग माग गरेका छन् । निर्माण क्षेत्रलाई थप संकटमा जान नदिन तत्काल नीतिगत र व्यावहारिक पहल आवश्यक रहेको व्यवसायीहरुले माग गरेका छन् ।
मधेश प्रदेशसंगै कोशी, गण्डकी र बागमति लगायतका प्रदेशहरुका निर्माण व्यवसायी महासंघले समेत पत्रकार सम्मेलन गरी मूल्य समायोजनको माग गरेका छन् । निर्माण व्यवसायी महासंघ, कोशी प्रदेशले पनि निर्माण सामग्री तथा इन्धनको मूल्यमा भएको तीव्र वृद्धिका कारण आयोजना सञ्चालनमा कठिनाइ बढेको भन्दै ठेक्का रकम पुनरावलोकन वा आयोजनाको समयावधि थप गर्न सरकारसँग माग गरेका छन् ।
आइतबार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी महासंघका प्रदेश अध्यक्ष जनसेवक भण्डारीले निर्माण क्षेत्र पहिले नै नीतिगत जटिलता र प्रक्रियागत ढिलाइबाट प्रभावित रहेको अवस्थामा पछिल्लो मूल्यवृद्धिले समस्या थप गम्भीर बनाएको बताए । समयमै नीतिगत निर्णय नलिए निर्माण उद्योग नै संकटमा पर्न सक्ने चेतावनी उनले दिए ।
व्यवसायीहरूका अनुसार इन्धन महँगिँदा सिमेन्ट, डण्डी, गिट्टी तथा बालुवाजस्ता सामग्रीको मूल्य करिब २० प्रतिशतसम्म बढेको छ । सडक निर्माणमा प्रयोग हुने बिटुमिनको मूल्य दोब्बर नजिक पुगेपछि सडक आयोजनाहरू विशेष रूपमा प्रभावित भएको उनीहरूको भनाइ छ । लागत वृद्धि, आपूर्ति चुनौती र समयसीमा दबाबका कारण धेरै पूर्वाधार आयोजना सुस्त वा ठप्प हुने जोखिम बढेको भन्दै व्यवसायीहरूले तत्काल राहत प्याकेज, मूल्य समायोजन व्यवस्था वा म्याद थप सम्बन्धी निर्णय गर्न सरकारसँग आग्रह गरेका छन् ।
यस्तै निर्माण व्यवसायी महासंघ गण्डकी प्रदेशले पनि डिजेल, पेट्रोललगायतमा भएको मूल्य वृद्धिले निर्माण सामग्रीको ढुवानीको लागत ह्वात्तै बढेको तथा निर्माण सामग्री उद्योगहरूले अप्रत्याशित रूपमा निर्माण सामग्रीमा मूल्यवृद्धि गर्दा निर्माण व्यवसायी संकटमा परेको पीडा सुनाए । इन्धनमा भएको मूल्यवृद्धि पश्चात निर्माण सामग्री उद्योगहरूले बिटुमिन, सिमेन्ट, रडलगायतका निर्माण सामग्रीहरूको मूल्य अप्रत्याशित रूपमा अत्यधिक बढाउँदा निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको गण्डकी प्रदेश निर्माण व्यवसायी सङ्घका अध्यक्ष कृष्ण लम्सालले बताए ।
बागमती प्रदेश निर्माण व्यवसायी महासंघले पनि हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी मँहगाईले निर्माण व्यवसाय धरासायी अवस्थामा पुगेको बताएका हुन् । महासंघले निर्माणको पूर्व निर्धारित म्याद थप र मूल्य समायोजनसहित ठेक्का पुनरावलोकन गर्न निर्माण व्यवसायीहरुले माग गरेका छन् ।


