२०८३ बैशाख १५, मंगलवार ०८:१७

रौतहटमा सशस्त्र प्रहरी बल नेपालले चालु आर्थिक वर्षको पहिलो ९ महिनामै ४ करोड रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गर्दै सीमाक्षेत्रमा आफ्नो सक्रियता मजबुत बनाएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण मुख्यालय रौतहट र मातहतका युनिटहरूको संयुक्त प्रयासमा उक्त सामान नियन्त्रणमा लिएर भन्सार दाखिला गरिएको हो।

सोमबार आयोजित “१९औं स्थापना दिवस २०८३” कार्यक्रमका अवसरमा सार्वजनिक गरिएको विवरण अनुसार साउनदेखि चैत मसान्तसम्म मात्र ३ करोड ७७ लाख ५५ हजार ५६ रुपैयाँ बराबरका अवैध वस्तु बरामद गरिएको छ। साथै, १७ लाख ८२ हजार २४० रुपैयाँ बराबरको हुण्डी कारोबार, २५ सय भारतीय रुपैयाँ र १ लाख १८ हजार रुपैयाँका नक्कली नेपाली नोट पनि जफत गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथि एवं छिन्नमस्ता बाहिनी महोत्तरीका बाहिनीपति डिआइजी कृष्ण ढकालले सीमा सुरक्षा, राजस्व चुहावट नियन्त्रण र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका प्रभावकारी रहेको बताए। स्थानीयसँगको सहकार्यका कारण अवैध गतिविधि नियन्त्रणमा सफलता मिलिरहेको उनको भनाइ थियो।

रौतहटको करिब ३२ किलोमिटर खुला सीमामा २४ घण्टा कडाइका साथ निगरानी भइरहेको उल्लेख गर्दै सीमित स्रोत–साधनका बाबजुद पनि उल्लेखनीय उपलब्धि हासिल गरिएको उनले बताए।

कार्यक्रमका विशिष्ट अतिथि तथा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले ‘सत्य, सुरक्षा र प्रतिबद्धता’ नारालाई व्यवहारमा उतार्दै सशस्त्र प्रहरीको भूमिका अझ मजबुत हुनुपर्नेमा जोड दिए। उनले सीमा पार हुने अवैध कारोबार नियन्त्रणसँगै नागरिकलाई अनावश्यक सास्ती नदिन पनि आग्रह गरे।

सशस्त्र प्रहरी बल नम्बर ११ गणका प्रमुख एसपी रामहरी अधिकारीका अनुसार सो अवधिमा ८२५ क्युफिट सालको काठ र ८ लाख ६३ हजार रुपैयाँ बराबरका पशुपंक्षी बरामद गरी नष्ट गरिएको छ। विभिन्न अपराधमा संलग्न २७ जना र जेलबाट फरार २ जनालाई पक्राउ गरिएको छ भने २ थान अवैध पेस्तोल र १३ राउन्ड गोलीसहित एक जनालाई नियन्त्रणमा लिइएको छ।

यसैगरी, ३२ जना महिलाको उद्धार, १३९१ थान लागूऔषध बरामद तथा ५ जनाको पक्राउ, र विपद् व्यवस्थापन अन्तर्गत २८२ वटा कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ। गत असोजमा आएको बाढीका क्रममा २४ परिवारका ८० जनाको सुरक्षित उद्धार गरिएको थियो।

सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन भारतीय सुरक्षा निकायसँग ७ पटक समन्वय बैठक र २१० पटक संयुक्त गस्ती सञ्चालन गरिएको जानकारी दिइयो।

कार्यक्रममा खेलकुद तथा बौद्धिक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रहरी कर्मचारीहरूलाई सम्मान गरिएको थियो।

सो अवसरमा गौर नगरप्रमुख शम्भु साह, विभिन्न स्थानीय तहका प्रमुख, नेपाली सेनाका कर्णेल बिश्वास बिष्ट, नेपाल प्रहरीका एसपी सिताराम रिजाल,राष्ट्रिय अनुसन्धान विभागका उप निर्देशक कुमार बुढाथोकी, पत्रकार महासंघका सभापती सञ्जय कार्की लगायतका प्रतिनिधिको उपस्थिति रहेको थियो।

Comment


Related News

Latest News

Trending News