रौतहटको सदरमुकाम गौरमा स्वरुप परिवर्तन गरी ठूलो आवाज निकाल्दै सञ्चालनमा रहेका तीन मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिताराम रिजालका अनुसार मंगलवार सञ्चालन गरिएको नियमित सडक गस्ती तथा अनुगमनका क्रममा गौर नगरपालिका क्षेत्रका विभिन्न चौक तथा बजारमा यस्ता मोटरसाइकल फेला परेका हुन्।
प्रहरीका अनुसार मोटरसाइकलमा सलेन्सर, भाइजर, सकर तथा सिटजस्ता पार्टपुर्जा परिवर्तन गरी अत्यधिक ध्वनि निकाल्ने कार्य भइरहेको थियो, जसले बजार क्षेत्रको वातावरण मात्र होइन, सर्वसाधारणको आवतजावतमा समेत समस्या सिर्जना गरिरहेको थियो।
यस्ता नियमविपरीत परिमार्जन गरिएका सवारी साधनले ध्वनि प्रदूषण बढाउनुका साथै सार्वजनिक शान्तिमा असर पुर्याउने भएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालका अनुसार विआर ०६ डिजे ९९३५ नम्बरको यामाहा, ना ४१ प ४४७३ एफजेड, विआर ०६डिसी ८३९८ नम्बरको एम टी १५ मोटरसाइकल नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएको उक्त तीनवटै मोटरसाइकललाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय गौर पठाइएको प्रहरीले जानकारी दिएको छ। साथै, यस्ता गतिविधिविरुद्ध निगरानी तथा कारबाही अभियानलाई निरन्तरता दिइने पनि प्रहरीले जनाएको छ।

