२०८३ बैशाख १६, बुधबार १६:४७

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ई-गभर्नमेन्ट पोर्क्युमेन्ट (ई-जीपी) प्रणालीमा अनधिकृत पहुँच गरी ठेक्का विवरण हेरफेर गरेको आरोपमा १३ जनालाई पक्राउ गरेको छ।

ठेक्का आर्थिक प्रस्ताव खोल्नुअघि नै दस्तावेजहरूमा हेरफेर गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरिएको उजुरीका आधारमा ब्यूरोले मुद्दा दर्ता गरेको थियो।

यस प्रकरणमा मुख्य आरोपितका रूपमा ऋषिकेश गौलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी चितवनको रत्ननगर स्थायी ठेगाना भई हाल काठमाडौं बूढानीलकण्ठमा बसोबास गर्दै आएका थिए।

काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि प्रहरी टोलीले उनलाई काठमाडौंको नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरेको हो।

उनीमाथि हाल विद्युतीय कारोबार ऐन, २०६३ तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार यस घटनामा संलग्न रहेको आशंका गरिएका अन्य १२ जना निर्माण व्यवसायीसहित कूल १३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ।

सीआईबीका अनुसार ई-जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर सार्वजनिक खरिद प्रक्रियामा गम्भीर हस्तक्षेप गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

Comment


Related News

Latest News

Trending News