जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) वितरणमा नापी कार्यालय धनुषाको देखिएको कार्यशैलीप्रति सेवाग्राहीहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।
शहिदनगर नगरपालिका–८, विसरभोरा क्षेत्रमा जग्गा नाप–नक्सा सम्पन्न भएको वर्षौं बितिसक्दा पनि लालपुर्जा वितरण नहुँदा स्थानीयलाई समस्या भएको छ । साविक विसरभोरा गाउँ विकास समिति अन्तर्गत वडा नं. १ देखि ९ सम्मको गाउँब्लक जग्गाको नाप–नक्सा करिब ५ वर्षअघि दुई पटक सम्पन्न भइसकेको छ । तर, हालसम्म जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) उपलब्ध नभएकाले सेवाग्राहीहरूले घर निर्माण, बैंक ऋण लिन लगायतका आवश्यक कार्य गर्न नसकेको गुनासो स्थानीयले गरेका छन् ।
लालपूर्जा वितरणका लागि सेवाग्राहीहरू पटक–पटक वडा कार्यालय, नगरपालिका तथा नापी टोली कार्यालयमा धाउँदै आएका छन् । तर अहिलेसम्म वितरणको कुनै छाँटकाँट देखिएको छैन । अहिलेसम्म २०८३ वैशाख ९ गते नापी टोली प्रमुख निरञ्जन यादवलाई दर्ता नं. १४० अन्तर्गत औपचारिक निवेदनसमेत पेश गरिएको थियो । सो निवेदनको बोधार्थ संघीय मामिला तथा भूमि व्यवस्थापन विभाग, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषामा समेत पठाइएको एक स्थानीयले जनाइएको छ । यति प्रयासपछि पनि समस्या समाधानतर्फ कुनै ठोस पहल नभएको सेवाग्राहीहरूको भनाइ छ । उनीहरूले अमिनदेखि उच्च अधिकारीसम्मको ढिलासुस्ती र समन्वय अभावका कारण काम प्रभावित भएको आरोप लगाएका छन् ।
यस्तै, जनगुनासो व्यवस्थापनका लागि सञ्चालनमा रहेको हेलो सरकार -११११) मा उजुरी दिँदा पनि अपेक्षित सुनुवाइ नभएको भन्दै सेवाग्राहीहरूले असन्तुष्टि पोखेका छन् । सम्बन्धित निकायहरूले यस विषयमा छानबिन गरी यथाशीघ्र लालपुर्जा वितरण प्रक्रिया अघि बढाउनुपर्ने माग स्थानीयले गरेका छन् ।

