निजी जग्गा नभएका धनुषा–सिरहाको सीमावर्ती क्षेत्रतर्फ बसोबास गर्दै आाएका विपन्न किसान कमला नदीको बगरमा लामो समयदेखि खरबुजाको खेती गर्दै आएका छन् । उत्पादन गरेको खरबुजालगायतका फलफूल तथा तरकारी बिक्री गर्न बजारको समस्या नहुँदा नगद व्यापार गरेर तीन महिनामै लगानीको दोब्बर आयआर्जन गर्दै आएका छन् ।
धनुषा र सिरहा जिल्लाको सीमा क्षेत्रमा पर्ने कमला नदीको छेउछाउमा रहेको गाउँवस्तीका जग्गाजमिन नभएका स्थानीय किसानहरु विगत दुई दशकदेखि खरबुजा खेती गर्दै आएका छन् । अहिले खरबुजा खेतीतर्फ आकर्षण ह्वात्तै बढेको छ । धनुषाको कमला नगरपालिका, जनकनन्दनी गाउँपालिका, सबैला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका र सिरहाको कर्जन्हा नगरपालिका, कल्याणपुर नगरपालिका र सिरहा नगरपालिका अन्तर्गत कमला नदी किनाराका विपन्न किसानहरु खरबुजा खेतीतर्फ आकर्षित भएर केही वर्ष यतादेखि मनग्य आयआर्जन गर्दै घरपरिवारको लालनपालनसहित गुजारा गर्दै आएका छन् ।
६ वर्षदेखि खरबुजा खेती गर्दै आएका स्थानीय किसान किसुन यादवले शुरुमा करिब ६ हजार रुपैयाँको लागनीमा शरु गरे । लगानी लगाएको तीन महिनापछि कम्तीमा १५ हजार रुपैयाँ लगानीसहित आम्दानी हुने गरेको स्थानीय किसान किसुन यादव बताउँछन् । उनले एक कठ्ठामा करिब ५ हजा रुपैयाँको लगानी लगाएको र सोबाट १५ हजार रुपैयाँ कमाएको अनुभव सुनाए ।
उनले भने, ‘विहानैदेखि रातिसम्म जाग्राम नै बस्नु पर्ने बाध्यता छ । यही खरबुजाको व्यापार गरेर घरमा छोराछोरीलाई मासुभातसम्म खुवाउन सकेको छु । लगानी अनुसार मनग्य आम्दानी भए पनि यहाँ सुरक्षाको निकै समस्या छ ।’ विगतमा जग्गा जमिन नभएका केही स्थानीय किसानहरुले कमला नदीको बगरमा खरबुजासहित तरकारीवाली लगाएर व्यवसाय शुरु गरेका थिए । त्यतिबेला बाटो पनि निकै असहज, दुबै तर्फको बाटोको समस्या र जीउज्यानको पनि त्यतिकै असुरक्षा रहे पनि गाउँघरमा जग्गाजमिन नहुँदा आयआर्जन गर्नैपर्ने बाध्यताका कारण केही सीमित स्थानीय किसानले कमला नदीमा रहेको बगरमै खरबुजा उत्पादन गरी व्यवसाय शुरु गरेका थिए । तर अहिले समय फेरिएको छ ।
अहिले धनुषा–सिरहाको सीमावर्तीमा पर्ने कमला नदीको दुबै तर्फका स्थानीय किसानहरु खोलामै उच्च स्थान खोजेर रोजेर खरबुजालगायतको वाली लगाएर व्यवसायी गरी आयआर्जन गरिरहेका छन् । अहिले कमला नदीमा निर्माणाधिन पुल रहे पनि वैकल्पिक मार्गबाट दुबैतर्फका स्थानीयलगायतका यात्रुहरु आवतजावत तथा सवारीसाधनसमेत आवागमन हुने गरेको छ ।
यसले गर्दा दुबै क्षेत्रतर्फका सर्वसाधारणहरुसमेत आवतजावतमा सहज भएपछि यहाँ खरबुजादेखि तरकारीसमेत उत्पादन हुने गरेको छ । कमला नदीको बाटो हुँदै आवतजावत गर्ने यात्रुहरु खरबुजादेखि तरकारीसम्म किनमेल गरी लाने गरेका छन् । यसले स्थानीय किसानहरु खुसीले हौँसिएका छन् ।
विगत वर्षमा बाटाघाटोको अभावमा उत्पादन गरिएको खरबुजाले बजार नपाउँदा न्यून मूल्यमा बेच्न यहाँका किसान बाध्य थिए । तर अहिले भने प्रति किलोको ५० रुपैयाँसम्म खरबुज बिक्री हुँदा मन दंग परेको स्थानीय किसान किसुन यादवले सुनाए । हातमुख जोड्नसम्म धौँधौँ परिरहेका स्थानीय किसानहरु अहिले आयआर्जनसहित छोराछोरीलाई शिक्षादिक्षा र लालनपालनमा समस्या नरहेको उनीहरु बताउँछन् । कमला नदीको अवस्थित पिपल गाछी मुनि दिनको करिब दश क्वीन्टलसम्म खरबुजाको व्यवसाय हुने गरेको छ ।
खरबुजा उत्पादन र व्यवसायबाट नै यहाँका दुई दर्जनभन्दा बढीको घरपरिवारले गुजारा समेत टार्दै आएका छन् भने मिहिनेत मजदुरी अनुसारको प्रतिफल प्राप्त हुने गरेको स्थानीय महिला किसानले आफ्नो अनुभव सुनाइन् । करिब एक बिघामा यस वर्ष उत्पादन गरेको खरबुजा बिक्री गरेर दुई लाखभन्दा बढी कमाइ हुने अनुमान छ ।
लगानी लगाएको रकमको दोब्बरभन्दा बढी आम्दानी गर्ने गरेका छन् । उनीहरु खोलाको बगरमै झुपडी बनाएर खरबुजा उत्पादनदेखि बिक्री नहुञ्जेलसम्म त्यहीँ बसोबास गर्ने गरेका छन् । आफू विगत दश वर्षदेखि खरबुजाको खेती गर्दै आएकी स्थानीय लक्ष्मीनियाँ मुखिया दिनको करिब ६ हजार रुपैयाँसम्म कमाउने गर्छिन् ।
खरबुजासंगै फुँइट, काक्रो, लौका, फर्सीलगायतका तरकारी खेतीसमेत गरेर वर्षेनि उत्पादन र आम्दानी बढाउन किसान आकर्षित छन् । अहिले दुबै जिल्लाका स्थानीय किसान बगरमा उत्पादन गरेको खरबुजा धनुषाको जनकपुरधाम, महेन्द्रनगर, ढल्केवर, सिरहाको लहान र सीमावर्ती भारतीय बजारमासमते माग निकै रहेको छ ।
एउटा खरबुजा करिब ७ किलोसम्म हुने गरेको छ । समयमा मल उपलब्ध हुने र सुख्खा मौसममा बाढी नआउने हो भने तीन/चार महिनामा राम्रो आयआर्जन हुने गर्छ । खरबुजा तथा तरकारी खेतीका लागि स्थानीय सरकारले कृषिसम्बन्धी तालिम, उत्पादनका लागि पूँजीको सुविधा र बजारसम्मको व्यवस्थापन गरिदिने हो भने निम्न वर्गीय किसानका लागि बगरको खरबुजा खेती मोहरका लागि भरपर्दो स्रोत हुने भनाइ कृषकहरुको रहेको छ ।

