२०८३ बैशाख १९, शनिबार ०९:२६

झण्डै दुई दशकसम्म रहस्यकै पर्दाभित्र लुकेको एक दर्दनाक पारिवारिक हत्याकाण्ड अन्ततः सार्वजनिक भएको छ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी शंकर प्रसाद आचार्यको सुझबुझ, धैर्य र निरन्तर सक्रियताले १८ वर्षपछि चकित पार्ने सत्य उजागर गरेको छ—बाबुको हत्यामा आफ्नै छोरा संलग्न रहेको पुष्टि भएको छ।

२०६४ साल जेठ २० गते गरुडा नगरपालिका–१ ९साबिक जयमनगर–४० का ६८ वर्षीय विशेष महतो कोईरीको निर्मम हत्या भएको थियो। घटनापछि प्रारम्भिक अनुसन्धानमा संलग्नताको आशंका गरिएका उनका कान्छा छोरा राम बिलास महतो परिवारसहित फरार भएका थिए, जसले घटनालाई झन् रहस्यमय बनाएको थियो।

समय बित्दै जाँदा फाइलहरू थन्किएका थिए, तर डिएसपी आचार्यले पुरानो फाइल पुनः अध्ययन गर्दै घटनाको गहिराइमा पुग्ने प्रयास थाले। एउटै घरभित्र हातखुट्टा बाँधेर हत्या गरिएको तर छिमेकीलाई समेत सुइँको नपुगेको तथ्यले प्रहरीलाई “घरभित्रकै षड्यन्त्र” तर्फ संकेत गर्‍यो।

त्यसपछि सुरु भयो लामो र चुनौतीपूर्ण खोजी अभियान। अनुसन्धानको धागो समात्दै प्रहरीले फतुवा विजयपुर हुँदै बारा कोल्हवीसम्म पुगेको सुराकी पायो। अन्ततः आफन्तमार्फत प्राप्त सूचनाका आधारमा फरार आरोपी चितवन माढी तर्फ रहेको सुइँको प्राप्त भयो। डिएस्पी आचार्यका अनुसार आरोपीको मोबाईल ट्रेस गर्दा चितवनको माढी क्षेत्रमा रहेको पुष्टि भयो।

लगातार चार महिनाको निगरानी र गोप्य अपरेशनपछि गरुडाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले चितवन प्रहरीको सहयोगमा फलफूल व्यवसाय गर्दै माढी बसेका राम बिलास महतोलाई पक्राउ गर्न सफल भयो।

प्रहरी अनुसन्धानअनुसार महतोले बाबुले लिएको ऋण तिर्न नसक्ने अवस्था, आर्थिक दबाब र जग्गा विवादबाट उन्मुक्ति पाउन योजनाबद्ध रूपमा आफ्नै बाबुको हत्या गरेका थिए। उनी सुतिरहेको अवस्थामा हातखुट्टा बाँधेर धारिलो हतियारले आक्रमण गरिएको खुल्न आएको छ। साथै, घटनालाई मोडेर निर्दोष व्यक्तिहरूलाई फसाउने योजना समेत रहेको प्रहरीको दाबी छ।

लामो समयदेखि फरार रहेका आरोपीलाई गत बुधबार पक्राउ गरी हाल इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यो घटनाले पारिवारिक सम्बन्ध र विश्वासमाथि गम्भीर प्रश्न उठाएको छ। तर, १८ वर्षपछि पनि अपराधी कानुनको कठघरामा आउनुले न्याय प्रणालीप्रति विश्वास अझ मजबुत बनेको छ—ढिलो भए पनि न्याय अवश्य हुन्छ भन्ने सन्देशका साथ। जिल्ला प्रहरी प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालले घटनाको पुष्टि गर्दै आर्थिक दबाब, ऋणको भार र जग्गा विवादबाट उन्मुक्ति पाउने उद्देश्यले महतोले योजनाबद्ध रूपमा आफ्नै बाबुको ज्यान लिएको स्पष्ट पारेका छन्।

Comment


Related News

Latest News

Trending News