बोक्सीको आरोपमा रौतहटको कटहरिया नगरपालिकाकि एकजना पूर्व वडा सदस्य दलित महिलालाई मानव मल मुत्र ख्वाईएको अमानवीय तथा जघन्य घटना सार्वजनिक भएको छ।
छिमेकीको घरमा जन्ती आएको एकजना बालकलाई जादू टुना गरेको आरोपमा कटहरिया ९ पुर्व वडा सदस्य बर्ष ५५ की अंकलिया देवी मुसहरिनलाई सनिवार साँझ केही स्थानीयहरुले बलपूर्वक मानव मल मुत्र ख्वाएको घटना सार्वजनिक भएको हो।
घटना बिवरण अनुसार डूमरिया मुसहरी टोलमा पीडितको छिमेकी पुकार माझीको छोराको बिहेको अवसरमा पर्साबाट सनिवार सरियतिया ९छोरी पक्षको जनती० आएको थियो। जनती आएका एकजना १० बर्षीय बच्चाले उल्टी गरेको थियो। सोही बिषयलाई निहुँ बनाएर यसले जादू टुना गरेर बच्चा लाई मार्न खोजेको आरोप लगाउँदै १५१२० जनाको भीड आएर पूर्व वडा सदस्य अंकलिया देवीको हात जीउ र अनुहार सहित टाउको समातेर उनीहरूले बियरको बोतलमा घोलेर ल्याएको मल मूत्र बलपूर्वक ख्वाएको प्रत्यक्षदर्शी पीडितकी छोरी सुमिला देवी मुसहरनीले बताइन। उनले भनिन हामी घरमा आमा छोरीमात्र थियौँ सनिवार साँझ ७ बजेको समयमा स्थानीय पुकार माझी मुसहर,राजेन्द्र माझी मुसहर,लक्ष्मी माझी मुसहर,शंकर माझी मुसहर, सुरेन्द्र ठाकुर लोहार, गौरी साह कलवार लगायत एकदर्जन भन्दा बढीको संख्यामा आएका मानिसहरूले एक्कासी घरभित्र प्रवेश गरी सबै मिलेर बियर को बोतलमा मल मुत्र घोलेर बलपूर्वक ख्वाएको छोरी सुमिलाले बताईन्।
हामीले बिरोध गर्दा उनीहरूले सामान्य कुटपिट समेत गरेको उनले दुःखेसो पोखिन्।
घटनाको केही समय पछि खबर आउना साथ ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई मोहन आले मगरको नेतृत्वमा घटनास्थल गएको टोलीले पीडित उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाएको थियो। सई मगरका अनुसार अचेत अवस्थामा रहेकी पीडित महिलालाई उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराउँदा हाल अवस्था सामान्य भएको छ।
घटनालगत्तै आरोपीहरु लाई गएराती पक्राउ गर्न जाँदा सिंगो टोल भरिकै अधिकांश महिला पुरुष प्रहरीटोली र प्रहरीको गाडी माथि आक्रमणको प्रयास गरेको थियो। पीडित महिलालाई ईलाका प्रहरी कार्यालय गरुडा पठाईएको तथा आरोपीको खोजी भईरहेको सई मगरले जानकारी दिएका छन्।
ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपि शंकर प्रसाद आचार्यले घटनाको अनुसन्धान र आरोपी पक्राउ गर्न ईन्सपेक्टरको कमाण्डमा थप प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको बताएका छन्। यस प्रकारको अमानवीय घटनामा जो जो दोषी ठहर हुन्छन कानुन अनुसार कडा कार्वाही गरिने डिएस्पी आचार्यले चेतावनी दिएका छन्। मुसहर समुदायमा छोराको बिहेमा जन्ती गएर बेहुलीको घरबाट फर्केको भोली पल्ट केटीपक्ष अर्थात बेहुलीको घरबाट बेहुलाको घरमा जन्ती ९ सरियतिया ० जाने चलन रहेको छ। सरियतिया आउँदा बेहुला पक्षले आफ्नो गच्छे अनुसार सुँगुर, खसी, कुखुराको मासु र मदिरा सेवन गर्ने चलन रहेको छ।


