नेकपा (एमाले)ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ । आइतबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सदस्यता व्यवस्थापनसम्बन्धी डेमो (प्रदर्शनात्मक) बैठकबाट यस्तो निर्णय गरिएको संगठन विभागका संयोजक एवं एमाले सचिव भानुभक्त ढकालले बताए ।
बैठकमा प्रस्तावित प्रणाली र कार्यान्वयनको ‘मोडेल’बारे विस्तृतमा छलफल गरिएको थियो । बैठकमा अनलाइन प्रणालीमार्फत सदस्यता नवीकरण, नयाँ सदस्यता र सम्पूर्ण अभिलेख व्यवस्थापनलाई डिजिटल बनाउने प्रस्ताव अघि सारिएको थियो ।
बैठकमा उपाध्यक्ष विष्णु पौडेलले अनलाइन सदस्यता नवीकरण अभियान पार्टी जीवनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने महत्त्वपूर्ण कदम भएको बताए ।
पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्य रहेको नेता ढकालले उल्लेख गरे । उनले संगठनलाई केन्द्रीयदेखि वडा तहसम्म एकीकृत डिजिटल अभिलेखीकरण प्रणालीमा लैजानुपर्ने आवश्यकता औँल्याए ।
संगठन विभागका अनुसार, अब एमालेको सम्पूर्ण सदस्यता प्रक्रिया अनलाइन प्रणालीमार्फत मात्र सञ्चालन गरिनेछ । यसलाई सातै प्रदेश, सबै जिल्ला र ७५३ वटै पालिकामा एकैसाथ लागु गर्ने एमालेको तयारी छ ।
प्रत्येक पालिकामा भौतिक उपस्थितिमै सदस्यतासम्बन्धी सहजीकरण गरिने, पार्टीका कामसँग जोडेर सदस्यता नवीकरण गर्ने व्यवस्था मिलाइने जनाइएको छ ।
अनलाइन प्रणालीमार्फत केन्द्रीय कमिटीदेखि वडा तहसम्म संगठनमा आबद्ध नेताहरूको ‘बायोडाटा’ संकलन तथा अभिलेखीकरण गरिने ढकालले बताए ।
पार्टी महासचिवको उपस्थितिमा यसअघि सातै प्रदेशका अध्यक्षहरूसहित संगठन विभागको बैठकबाट जेठ मसान्तलाई सदस्यता नवीकरणको अन्तिम मिति तोक्ने प्रस्ताव अघि सारिएको थियो ।


