२०८३ बैशाख २२, मंगलवार ०६:५२

भारतका विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण अन्योलमा परेको छ । नेपाल र भारतबीच सीमा विवादको विषय फेरि बहसमा चर्किएसंगै भारतीय विदेश सचिव मिश्रीको नेपाल भ्रमण अन्योलमा परेको बताइएको छ ।

नेपाली भूभाग कालापानी, लिम्पियाधुरा, लिपुलेक क्षेत्रमार्फत कैलाश मानसरोवर यात्रा शुरु गर्ने विषयमा भारत–चीनबीच सम्झौता भएको छ । भारतको विदेश मन्त्रालयले अप्रिल ३० तारेखमा चीन सरकारसंगको समन्वयमा जुन महिनादेखि अगस्ट महिनासम्म कैलाश मानसरोवर यात्रा सञ्चालन गरिने घोषणा गरेको थियो ।

उक्त सम्झौतालाई लिएर नेपालले दुबै देशप्रति कूटनीतिक नोटमार्फत आपत्ति जनाइएको प्रस्ट पारेको छ । परराष्ट्र मन्त्रालयले आइतबार प्रेसनोट सार्वजनिक गर्दै सन् १८१६ को सुगौली सन्धि अनुसार महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भू–भाग भएकोमा सरकार अडिग रहेको स्पष्ट पारेको थियो । नेपाली भूमि लिपुलेक हुँदै आयोजना हुने भनिएको यात्राका सम्बन्धमा नेपालले आफ्नो स्पष्ट अडान भारत र चीन दुबै पक्षलाई पुनः अवगत गराइसकेको सरकारले प्रेस नोटमार्फत जनाएको छ ।

उक्त क्षेत्रमा सडक निर्माण, व्यापार वा तीर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न भारतलाई निरन्तर आग्रह गर्दै आएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस नोटपछि भारतीय विदेश मन्त्रालयले प्रेस नोट ज ा र ी ग र्द ै नेपालको दाबीलाई अस्वीकार गरेको छ ।

सार्वजनिक गरेको वक्तव्यमा लिपुलेक नाका सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको र यो कुनै नयाँ विकास नभएको उल्लेख गर्दै भारतले यस्ता क्षेत्रीय दाबीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । भारतले नेपालसंग द्विपक्षीय सम्बन्धअन्तर्गत रहेका सबै विषयमा रचनात्मक संवादका लागि तयार रहेको पनि भनेको छ । दुई देशको सीमा विवादका कारण सचिव मिश्रीको नेपाल भ्रमण पनि अन्योलमा रहेको स्रोतको भनाइ छ ।

यसअघि मिश्रीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र (बालेन) साहसंग भेट हुने/नहुने भन्ने द्विविधामा केन्द्रित थियो । अहिले सीमा विवाद सतहमा आएपछि झन् अन्योल भएको छ । मिश्रीको नेपाल भ्रमण वैशाख २८ गतदेखि सुरु हुने भनिएको थियो तर परराष्ट्र मन्त्रालयले भ्रमणको त्यस्तो कुनै औपचारिक निर्णय नभएको बताएको छ ।

बालेनलाई भारतको भ्रमणको औपचारिक निमन्त्रणा दिन भारतीय विदेश सचिव मिश्री नेपाल आउन लागेका थिए । तर प्रधानमन्त्री बालेनले भेट्ने निश्चित नगरेपछि त्यतिबेला नै भ्रमण अनिश्चित बनेको थियो । यद्यपि तयारी दुबैतर्फ चलिरहेको थियो । यो विवादले झन अन्योल थपिएको स्रोतले दाबी गरेको छ । भारतीय विदेश सचिव मिश्री नेपाल भ्रमणमा नआए पनि परराष्ट्रमन्त्री शिशिर खनाल भने भारत भ्रमणमा जाने बुझिएको छ । भारतमा हुन गइरहेको ब्रिक्स परराष्ट्र मन्त्रीहरूको सम्मेलनमा उनी त्यहाँ जाने परराष्ट्र मन्त्रालयको एक अधिकारीले जनाए । यसबारे पनि परराष्ट्र मन्त्राालयले औपचारिक रुपमा भने जानकारी दिन चाहेनन् ।

Comment


Related News

Latest News

Trending News