नेपाली कांग्रेसले प्रस्तावित ‘प्रतिनिधिसभा नियमावली, २०८३’ को मस्यौदा सच्चाउन माग गरेको छ ।
सिंहदरबारमा बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधिसभा नियमावली, २०८३ को मस्यौदाका कतिपय प्रावधानहरू संविधानको मर्म विपरीत र विधिशास्त्रीय दृष्टिकोणले समेत गम्भीर रहेकाले ती विषयहरुलाई सच्चाउनुपर्ने माग गरेको कांग्रेस प्रमुख सचेतक बासना थापाले जानकारी दिनुभयो ।
असल नियतले सुशसान र सेवा प्रवाह सहजताका लागि गरेका प्रावधानहरुलाई समर्थन गर्ने तर संविधानको भाव विपरित जारी गरिएका प्रावधानहरुको विरुद्धमा संसदमा सशक्त आवाज उठाउने निर्णय गरिएको प्रमुख सचेतक थापाले बताउनुभयो ।
साथै बैठकले सरकारले विधायिकी अधिकारको गम्भीर उल्लंघन र संसदीय अभ्यास माथि निर्मम प्रहार गरेको निष्कर्ष निकालेको उहाले बताउनुभयो ।
बैठकले वास्तविक सुकुम्बासीको पहिचान, ससम्मान स्थानान्तरण र मर्यादित पुनस्र्थापनाका लागि सदनमा प्रभावकारी आवाज उठाउने निर्णय समेत गरेको छ ।


