रौतहट र बाराका नेपालीहरूको भारतीय बजारको रुपमा रहेको घोडासहानमा अवैध आर्थिक गतिविधि हुण्डीको ठूलो कारोबार भइरहेको तथ्य भारतीय प्रहरीले उजागर गरेको छ । संगठित हवाला र मनी लाउन्डरिङ सञ्जालमाथि कारबाही गर्दै प्रहरीले ७० लाखभन्दा बढी भारतीय तथा नेपाली मुद्रा बरामद गरेको हो।
कारोवारमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोतिहारी प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा परिचालित विशेष टोलीले योजनाबद्ध छापामारी गर्दा ५६ लाख ७१ हजारभन्दा बढी भारतीय रुपैयाँ र १३ लाख ६७ हजारभन्दा बढी नेपाली रुपैयाँ नगद फेला पारेको जनाएको छ । मोतीहारी प्रहरी प्रमुख एसपी सुवर्ण प्रभातका अनुसार घटनास्थलबाट कम्प्युटर, नोट गन्ने मेसिन, दुई वटा पीओएस मेसिन, ११ थान मोबाइल तथा बैंकिङ कारोबारसँग सम्बन्धित विभिन्न सामग्री समेत जफत गरिएको छ ।
कारबाहीका क्रममा कारोवारी सुरेन्द्र प्रसाद, प्रेम सागर कुमार, गंगा सागर कुमार र विक्रम कुमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानले उनीहरू बाहिरी रूपमा सामान्य व्यापारको आवरणमा भित्रैबाट अवैध मुद्रा कारोबार र हवाला नेटवर्क सञ्चालन गर्दै आएको देखिएको प्रहरीको भनाइ छ ।
अनुसन्धानमा संलग्न अधिकारीका अनुसार उक्त गिरोहले भारतीय र नेपाली मुद्राको साटासाटको नाममा करोडौँ रुपैयाँ बराबरको गैरकानुनी कारोबार गर्दै आएको खुलेको छ। ‘म्युल अकाउन्ट’, ट्रेडिङ एप, क्रिप्टो एक्सचेन्ज र यूएसडीटी जस्ता डिजिटल माध्यम प्रयोग गरी रकम ओसारपसार गर्ने गरिएको समेत फेला परेको छ ।
भारतीय प्रहरीका अनुसार एक वित्तीय खातामार्फत करिब ६ मिलियन यूएसडीटी -झन्डै ५० करोड रुपैयाँ बराबर) को कारोबार भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। जफत गरिएका मोबाइलहरूमा बहुविध बैंक खाता, ई–केवाईसी दुरुपयोगसम्बन्धी एप्स तथा अन्तरदेशीय आर्थिक कारोबारका प्रमाण समेत भेटिएका छन् ।
यो अपरेसन मोतिहारी जिल्ला प्रहरी एसपी प्रभातको प्रमुखको निर्देशनमा साइबर डीएसपी अभिनव परासरको नेतृत्वमा सञ्चालन गरिएको थियो । अनुसन्धानका क्रममा उक्त सञ्जालको पहुँच अन्तर्राष्ट्रिय तथा अन्तर्राज्यीय स्तरसम्म फैलिएको आशंका गरिएको छ ।


