२०८३ बैशाख २५, शुक्रबार ०८:१५

खेतीपातीको सुरु भएसँगै मधेश प्रदेशमा फेरी रासायनिक मलको अभाव भएको छ । मकै, चैते धान र उखु खेतीका लागि अत्यावश्यक मानिने डीएपी र युरिया मल समयमा उपलब्ध नभएपछि किसानहरू निराश मात्र नभई आक्रोशितसमेत बनेका छन्

मधेश प्रदेशलाई मुलुककै प्रमुख अन्न भण्डार भनिन्छ । धान, गहुँ, मकै, उखु तथा तरकारी उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउने मधेशमा मल अभावले खेती प्रणाली नै प्रभावित हुने अवस्था सिर्जना हुँदा किसानहरू चिन्तित देखिएका छन् । आवश्यक मल, भरपर्दो सिँचाइ र उन्नत बीउ अभावले उत्पादन घट्दै गएको किसानहरुको भनाई छ ।

धनुषाका किसान रामप्रसाद साहले भने ‘सरकारले कृषि उत्पादन र आत्मनिर्भरताको नारा दिएपनि व्यवहारमा किसानलाई आवश्यक सेवा दिन सकिरहेको छैन ।’ यतिबेला मधेशका अधिकांश किसान मकै बालीमा मल हाल्ने तयारीमा छन् भने केही सातापछि धान रोपाइँको सिजन सुरु हुँदैछ

तर, सरकारी अनुदानको मल पर्याप्त मात्रामा उपलब्ध नभएपछि किसानहरू निजी बजार धाउन बाध्य भएका छन् । निजी बजारमा पनि मल सहज रूपमा नपाइने र पाइए पनि चर्को मूल्य तिर्नुपर्ने अवस्था रहेको किसानहरू बताउँछन् । सर्लाहीको नवलपुरका किसान अशोक झाले बजारमा मलको अभावसँगै कालोबजारी मौलाएको गुनासो गरेका छन् । उनका अनुसार सरकारी बिक्री केन्द्रमा मल नपाइएपछि किसानहरू निजी व्यापारीको भर पर्न बाध्य छन् । त्यहाँ मनोमानी मूल्य असुल भइरहेको छ ।

उनले भने ‘उखु रोप्ने बेला भइसक्यो । तर, मल पाइएन,’ उनले भने, ‘सरकारी गोदाम खाली छ, निजी पसलमा महँगोमा बेचिरहेका छन् ।’ धनुषाको नगराइन नगरपालिका निवासी ज्योतिष चन्द्र झाले विगतका वर्षहरूमा भारतबाट सीमावर्ती क्षेत्रमा मल ल्याएर केही राहत मिल्ने गरेको भए पनि अहिले सीमा क्षेत्रमा कडाइ बढेपछि समस्या झन् चर्किएको बताए । धान, गहुँ र मकैजस्ता बालीमा मलको मात्रा कम हुँदा उत्पादन आधासम्म घट्न सक्ने कृषकहरू बताउँछन् ।

त्यता, सरकारी निकायले भने मागअनुसार मल आपूर्ति हुन नसक्दा समस्या उत्पन्न भएको बताएका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशका बाली विकास अधिकृत रविन बस्नेतले प्रदेशलाई आवश्यक पर्ने अनुपातमा मलखाद्य संघबाट उपलब्ध नगराएकाले आभाव हुन गएको बताए । उनले भने ‘प्रदेश सरकार आफै मल खरिद गर्ने व्यवस्था छैन, संघीय सरकार मातहतका रहेका साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीमार्फत आपूर्ति हुने हो । आपूर्ति बढाउन पटक पटक माग गरिरहँदा पनि नबढाउँदा समस्या बढेको हो ।’ बस्नेतका अनुसार संघीय मन्त्रालयले वैकल्पिक उपाय अपनाउन निर्देशन दिएको छ ।

त्यसअनुसार जैविक मल तथा वैकल्पिक पोषण व्यवस्थापनतर्फ किसानलाई प्रोत्साहन गर्ने तयारी भइरहेको उनले बताए । तर, किसानहरू भने तत्काल खेती बचाउन रासायनिक मल नै आवश्यक छ त्यो पनि तत्काल उपलब्ध गराउन सक्ने अवस्था छैन । कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रदेश वीरगंजका सूचना अधिकारी दिनेश शर्माले मधेश प्रदेश मात्रै होइन मुलुकभर नै मागअनुसार मल आयात हुन नसक्दा समस्या गम्भीर बनेको बताएका छन् ।

उनका अनुसार नेपाललाई वार्षिक रूपमा करिब १७ देखि १८ लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने भएपनि सरकारले ३ देखि ४ लाख मेट्रिक टनमात्र आयात गरिरहेका छन् । यसैकारण प्रत्येक वर्ष मलको आभाव हुने गरेको छ । उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि, ढुवानी लागत र खरिद प्रक्रियामा हुने ढिलाइका कारण पनि यसवर्ष मल आपूर्ति प्रभावित बनेको हो ।

कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय जनकपुरधामको साउन १ गतेदेखि चैत ३० गतेसम्मको तथ्यांक अनुसार हाल कार्यालयमा युरिया २७ हजार ४३१ मेट्रिक टन, डीएपी १० हजार २१५ मेट्रिक टन, पोटास ४ हजार ७५८ मेट्रिक टन तथा चुन ५२ मेट्रिक टनसहित अन्य मल गरी कुल ४२ हजार ६२८ मेट्रिक टन मौज्दात रहेको उल्लेख छ ।

Comment


Related News

Latest News

Trending News