अपडेट 
२०७७ बैशाख २६, शुक्रबार ०८:१०

काठमाण्डु । सत्तारुढ दल नेपाल कम्ष्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीका २० जना असन्तुष्ट सदस्यहरुले विहिवार गरेको भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामाको माग समेत उठेको छ ।

असन्तुष्ट पक्षका स्थायी कमिटी सदस्य भिम रावलले प्रधानमन्त्री ओलीको राजिनामा माग्नु पर्ने प्रस्ताव गरेका थिए ।धुम्बराहीमा भएको भेलामा पार्टीलाई विधान अनुसार चल्न नदिएको आरोप लगाउँदै ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट हटाउनु पर्ने विषयमा छलफल भएको बताइएको छ ।

स्थायी कमिटिको बैठक विहिवार बोलाइएको थियो ।स्थायी कमिटीको बैठक तयारीका लागि बुधवार बसेको सचिवालय बैठकमा चर्काचर्की भएपछि प्रधानमन्त्री ओली बैठक छाडेर हिडेका थिए ।उनी बैठकबाट उठेको केहि बेरपछि महासचिव विष्णु पौडेलले आवश्यक तयारी नपुगेको भन्दै स्थायी कमिटीको बैठक स्थगित गरिएको बताएका थिए ।

पार्टीको विधान अनुसार स्थायी कमिटीका २५ प्रतिशत सदस्यले बैठक बोलाउन माग गरेको १५ दिन भित्र बैठक बोलाउनु पर्ने प्रावधान छ ।तर १५ दिन बितिसक्दापनि बैठक बोलाइएको छैन् । नेकपा स्थायी समितिमा ४४ सदस्य छन्।

वैशाख २० गतेको सचिवालय बैठकले स्थायी समिति बैठकको मिति, समय र स्थान टुंगो लगााए पनि एजेण्डा तय भइनसकेको र थप गृहकार्य आवश्यक भएको भन्दै बुधवारको सचिवालय बैठकले अनिश्चित कालका लागि बैठक स्थगित गरेको हो । सचिवालय बैठकमा कुरा नमिलेपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो। उक्त छलफलमासमेत सहमति नजुटेपछि अन्तिम समयमा स्थायी समिति बैठक स्थगित भएको हो।

स्रोतहरुका अनुसार प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठकलाई टार्न खोजेका छन् । उनी बजेटअघि स्थायी समिति बैठक नगर्ने तयारी गरेको बताइन्छ ।

स्थायी कमिटीमा प्रधानमन्त्री ओलीको बहुमत छैन् । उनी स्थायी कमिटीको बैठक बोलाउन नचाहेपनि अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले बैठक गर्ने पक्षमा छन् ।

प्रधानमन्त्रीलाई पद छाड्न दवाव बढे दुई पार्टी बीचको एकता भंग हुन सक्ने धम्कीदिदै ओली पक्षधर नेताहरुले पार्टी फुट्ने संकेत दिएका छन् ।

सचिवालय बैठकमा नाटकिय ढंगले प्रधानमन्त्री ओलीको पक्षमा बहुमत पुगेको दोस्रो दिन नै समिकरण फेरिएको थियो ।अहिले पूनः ओली सचिवालयमा समेत अल्पमतमा परेका छन् ।स्थायी कमिटीमा उनको अवस्था अत्यन्त कमजोर छ ।

स्थायी कमिटीको बैठक‘फेस’ गर्न ओलीलाई समस्या परेको छ ।सचिवालयमा उनको पक्ष बलियो बनाउन राष्ट्रपति विद्या देवी भण्डारीले चिनिया राष्ट्रपतिसित कुरा गरेको र चिनिया राजदूतको सकृयताले तत्कालका लागि विवाद मथ्थर भएको आरोप पार्टी भित्रबाट नै लाग्न थालेकोछ ।

पार्टी एकिकरणको बेला ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको थियो ।तर त्यसलाई उल्लंघनगर्दै ओलीले प्रचण्डलाई कार्यकारी अध्यक्ष भन्दै पाँच वर्ष नै प्रधानमन्त्री रहने समर्थन प्राप्त गरे ।ओलीले पार्टीलाई ओझेलमा पार्दै सरकारमा एकलौटी निर्णयहरु गर्न थालेपछि उनी बिरुद्ध प्रचण्ड, नेपाल, खनाल लगायतका नेताहरु एकजुट भएका हुन् ।

स्थायी समिति बैठक अनिश्चित भएसँगै नेताहरु गुटगत रुपमा आन्तरिक छलफल र भावी रणनीति बनाउन जुटेका छन् ।

शुक्रबारबाट संसद समेत सुरु हुने भएकाले आगामी जेठ १५ अघि अब नेकपाको स्थायी समिति बैठक बस्ने सम्भावना कम हुँदै गएको छ । स्थायी समितिमा अल्पमतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले यो बीचमा सचिवालय सदस्यहरुलाई जसरी नै स्थायी समिति सदस्यलाई पनि आफ्नो समूहमा ल्याउन पहल गर्ने सम्भावना रहेको नेकपा नेताहरुबीच चर्चा हुन थालेको छ ।

Comment


Related News

Latest News

Trending News