२०८३ बैशाख २६, शनिबार ०८:२४

शिक्षा, स्वास्थ्य, रोजगारी, प्रति व्यक्ति आयलगायतका सकारात्मक सूचकांकमा पुछारमा रहेको मधेश प्रदेश राजनीतिम भने अब्बल मानिन्छ । सम्भवतःयही कारण हो, चालु आर्थिक वर्षमा विनियोजित बजेट खर्च गर्ने तथा लोककल्याणकारी बजेट निर्माण गर्ने महत्वपूर्ण समयमा मधेशमा सरकार परिवर्तनको हल्ला चलेको छ । लोकतान्त्रिक व्यवस्थामा नेता वा सत्ता परिवर्तन अनौठो होइन तर बजेट खर्च गर्ने वेला तथा नयाँ बजेट बनाउने समयमा राजनीतिकदलहरु सत्ताको खेलमा व्यस्त हुनु भनेको जनताको विकास निर्माणको सपनासंग खेलबाड गर्नु सरह हो । मधेश प्रदेशमा अचेल नेपाली कांग्रेसका कृष्णा यादव मुख्यमन्त्री छन् । एमालेवाहेकका प्रायः सम्पूर्ण दल सरकारमा सहभागी छन् । सहभागी दलहरुमध्ये जनमत पार्टीभित्रको विवादले यादव नेतृत्वको सरकारको जग नराम्ररी हल्लाएको छ । जनमतलाई दोश्रो फूटको कगारमा ल्याई पु¥याएको छ । जनमत पार्टीभित्रको अवस्था पार्टी अध्यक्ष डा. सि.के.राउतको यस अभिव्यक्तिबाट बुझ्न सकिन्छ । उनले आफ् नो फेसबुकवालमा हिन्दी गजलको मुखडा लेख्दै मनको पीडा पोख्नु भएको छ–

‘नजाने क्या नशा है तेरी आँखो में, भेजताहूँ जिसे डुबके खो जाता है ।

नजाने क्या कशिस है तेरी बाँहों में, भेजताहूँ जिसे बेवफाहोके आता है ।।’

यस अघि सतीशकुमार सिंहलाई मुख्यमन्त्री पदबाट राजीनामा दिन दिएको निर्देशन नमानेको तथा हाल अर्थमन्त्री महेशप्रसाद यादवलाई मन्त्री पदबाट राजीनामा दिन दिएको निर्देशन विपरीत उनी पदमै विराजमान रहेको दुःखनामा उनी यस गजलबाट व्यक्त गरेको प्रष्टै बुझ्न सकिन्छ । डा. राउतको यस गजलको चोटिलो जवाफ फर्काउनु भएका छन्– मधेश प्रदेशका पूर्व मुख्यमन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टीका प्राज्ञिक नेता जीतेन्द्र सोनल। उनले हिन्दी सन्त साहित्यका चर्चित कवि रहिमको पद लेखेर डा. राउतलाई आत्म समीक्षा गर्न सल्लाह दिएका छन् –
‘जो रहीम उत्तम प्रकृति, का करि सकत कुंसंग ।

चन्दन बीस व्यापत नही, लिपटे रहत भुजंग ।।’

अर्थात् यदि रहिम (डा.राउत) स्वयं उत्तम पात्र छन भने नराम्रो व्यक्तिसंग दोस्ती गरे पनि उनी ठिक रहनु पर्ने हो । कारण चन्दनको रुखमा सर्पहरु टाँसी रहन्छन र पनि चन्दनको वासना कायमै रहन्छ ।चन्दनमा विषको प्रभाव पर्दैन । दुई नेताबीचको फेसबुके नोक झोकले मधेशको राजनीति पुनः तरंगित हुनलागेको संकेत दिन्छ । हो पनि, जनमत पार्टीका मधेश प्रदेश सभामा हाल विद्यमान रहेका १२ मध्ये ९ प्रदेश सांसदले कृष्ण प्रसाद यादव नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने लिखित पत्र प्रदेश प्रमुखलाई बुझाई सकेका छन् तर जनमत पार्टीबाटै अर्थमन्त्री बनेका महेश प्रसाद यादवसहितका दुई मन्त्री राजीनामा दिन तयार छैनन् ।

अर्कोतर्फ पार्टी अध्यक्ष डा.राउतले अर्थमन्त्री महेश प्रसाद यादवलाई संसदीय दलको नेताबाट हटाइ पार्टीका केन्द्रीय महासचिवसमेत रहेका चन्दनकुमार सिंहलाई दलका नेता चयन गरेका छन् । सत्ता साझेदार दलहरुमध्ये कुनै दलले समर्थन फिर्ता लिएको अवस्थामा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ । भन्नुको तात्पर्य चालु आर्थिक वर्षको विनियोजित बजेट खर्च गर्ने तथा आगामी आर्थिक वर्षको बजेट निर्माण गर्ने वेला मधेश प्रदेशमा सत्ताको हानथाप चलि रहने छ ।

मुख्यमन्त्री कृष्णा यादव नेतृत्वको सरकारमाथि जनहितमा काम नगरेको, उपभोक्ता समितिहरुको चिठी वितरणमा अनिमितता गरेको ठहर गरी जनता समाजवादी पार्टी, नेपालले दुई साता अघिनै सरकारलाई दिएको समर्थन फिर्ता लिने अनौपचारिक निर्णय गरिसकेको श्रोतको दाबी छ । सरकारका काम काजबाट नेकपा पनि सन्तुष्ट छैनन् तर वर्तमान परिस्थितिमाथि पार्टीहरु सरकार ढाल्ने वा नयाँ सरकार बनाउनेतिर केन्द्रित देखिदैनन् । यदि सत्ता परिवर्तनबाट कुनै दललाई लाभ हुन्छ भने त्यो हो– नेकपा एमाले ।

नेपाली कांग्रेस र नेकपा एमाले नयाँ सरकार बनाउने पर्याप्त आधार छन् । मधेशवाहेकका अन्य ६ प्रदेशमा अझै पनि कांग्रेस र एमालेकै सरकार छ । मधेशका १०७ सदस्यीय मधेश प्रदेशसभामा सरकार बनाउन ५४ सिट चाहिन्छ । प्रदेश सभामा हाल नेकपा एमालेको २४ र नेपाली कांग्रेसको २२ सांसद छन् ।

दुबै जोड्दा ४६ पुग्छ । बांकीका ८ सांसद जनमत -१२ मा २ घटेपछि १० वा नेपाल कप्युनिष्ट पार्टी -माओवादी केन्द्र) का ७ र एकिकृतका ७ गरी १४ बाट पूरा गर्न सकिन्छ । अर्को वर्ष प्रदेशको निर्वाचन हुने पक्का हो । आगामी निर्वाचनमा भाग लिन राजनीतिक दलहरुले आफ्नो रिपोर्ट कार्ड मतदाता समक्ष देखाउँनै पर्ने हुन्छ । यसै पनि ६० प्रतिशतको हाराहारीमा बजेट खर्च गर्दै आएको मधेश सरकार यस वर्ष विनियोजित बजेट खर्च गर्न सकेन वा लोककल्याणकारी बजेट बनाउँन सकेन भने सत्ताको खेलमा रमाएका राजनीतिकहरुलाई मतदाताले के जवाफ दिने हो ? समयले नै बताउँने छ ।

Comment


Related News

Latest News

Trending News