सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिसमा सरकारले अपनाएको प्रक्रियाको नेपाली कांग्रेसले आलोचना गरिरहेको बेला मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा यादवले प्रधानमन्त्रीको बचाउ गरेका छन् ।
कानुन दिवसको अवसरमा शनिवार आयोजित न्यायिक महोत्सवको उद्घाटन समारोहमा मुख्यमन्त्री यादवले प्रधानमन्त्री बालेन्द्र शाह-बालेन)ले वरिष्ठताको क्रम भंगगरी योग्यताको आधारमा प्रधानन्यायाधीशको सिफारिस गर्नु राम्रो भएको बताए । मुख्यमन्त्री यादवले प्रधानमन्त्री बालेनको प्रशंसा गर्दै भने, सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा प्रधानमन्त्री बालेनले क्रमभन्दा माथि उठेर सक्षमतालाई ध्यानमा राख्दै प्रधानन्यायाधीश सिफारिस गरेका छन् । नेपाली कांग्रेसले प्रधानन्यायाधीश सिफारिस प्रकरणमा सरकारको कडा आलोचना गर्दै आएको छ ।
न्याय परिषद्मा विपक्षी दलको हैसियतमा सदस्य रहेका कांग्रेस संसदीय दलका नेता भीष्मराज आगदम्बेले ७ बुंदे नोट अफ डिसेन्ट लेखेर असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेसले संस्थागत रुपमा पनि सर्वोच्चमा वरिष्ठताको क्रम भंग गरिएको विषयलाई विरोध गरेको बेला सो पार्टीका मधेश प्रदेश संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री यादवले प्रधानमन्त्रीको प्रशंसा गरेका छन् । ‘वर्षौदेखि चलिआएको प्रथालाई तोड्दै प्रधानमन्त्री बालेनले गरेको सिफारिसले देशका लागि नयाँ आयाम थप्ने छ ’ उनले भने ,प्रधानमन्त्री बालेनको निर्णय देशको लागि सौभाग्यपूर्ण साबित हुने छ । मुख्यमन्त्री यादवले न्यायालयमा कार्यपालिका हाबी नहुनु पर्नेमा जोड दिए ।
‘कानुनको कार्यान्वयनको बीचमा राजनीतिक हस्तक्षेप हुनु हुँदैन्’ मुख्यमन्त्री यादवले उच्च अदालत जनकपुर अन्तर्गत रहेका मधेश प्रदेशका आठवटै जिल्लाका इजलासहरुलाई निष्पक्ष रुपमा फैसला सुनाउन आग्रह गरे । मुख्यमन्त्री यादवले कांग्रेसको भन्दा फरक लाइनमा देखिएका छन् ।उनलाई भेंटनेहरुसितको संवादमा समेत प्रधानमन्त्री बालेनको नीति र कार्यक्रमलाई प्रशंसा गर्न थालेका छन् ।मुख्यमन्त्री यादव प्रधानमन्त्री साहको कार्यशैलीबाट निकै प्रभावित भएको उनका सहयोगीहरुले बताउने गरेका छन् । ‘अपराधीलाई कारबाही होस् र बेकसुरलाई सजाय नहोस्’ मुख्यमन्त्री यादवले भने, न्याय सम्पादनमा निष्पक्षता, तटस्थतामा दृढ रहनु पर्छ । मधेश प्रदेशमा यादव नेतृत्वको सरकार संकटमा परेको छ ।सत्ता गठबन्धनका एउटा प्रमुख घटक जनमत पार्टीले समर्थन फिर्ता लिइसकेको छ ।
कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहबाट मुख्यमन्त्री बनेका यादव वर्तमान सभापति गगन थापासित पनि निकटता बढाउने प्रयासमा लागेको बताइन्छ । कांग्रेस संस्थापन पक्षका नेताहरुका अनुसार मुख्यमन्त्री यादव बालेन सरकारको प्रशंसामा केही समयदेखि लागेको बताउँदै पार्टी विरुद्धको गतिविधिमा संलग्न रहेको आरोप लगाएका छन् ।पछिल्लो समयमा यादव बालेन सरकारसित निकट्ता स्थापित गर्न चाहेको उनका निकटहरुले बताउन थालेका छन् । उच्च अदालत जनकपुरधामको आयोजनामा भएको न्यायिक महोत्सवमा मधेश प्रदेशका आठवटै जिल्लाका न्यायाधीश, अदालतका कर्मचारीहरुको उपस्थितिमा जनकपुरधाममा न्यायिक महोत्सवको आयोजना गरिएको हो । मधेश प्रदेशका आठवटा जिल्लाका १ हजार ५ सय भन्दा बढी अदालतमा काम गर्ने प्रत्यक्ष, अप्रत्यक्ष कर्मचारी, सर्वसाधारण, कानुन संकायका विद्यार्थीहरुको उपस्थिति रहेको आयोजकहरुले जनाएका छन् ।
जनकपुरधाम उच्च अदालतको राजविराज र बीरगञ्ज अस्थायी इजलास, नेपाल वार एशोसिएशन जनकपुरको संयुक्त सहभागिता रहेको न्यायिक महोत्सव अत्यन्त उपलब्धिमूलक रहेको सहभागीहरुले जनाएका छन् । उच्च अदालत जनकपुरधामका न्यायाधीश मुरारीबाबु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको न्यायिक महोत्सवको उद्घाटन समारोहमा मधेश प्रदेशका प्रमुख डा.सुरेन्द्र लाभ लगायतको सहभागिता रहेको थियो ।


