नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्टहरूको आधार सिद्धाउने योजना भइरहेको बताउनुभएको छ ।
आइतबार नेकपा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित २६ औं निर्मल लामा स्मृति सभामा प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई नेपालबाट सखाप पार्न देशी विदेशी प्रतिक्रियावादीहरू निकै ठुलो डिजाइन अन्तर्गत लागिपरेको बताउनुभएको हो ।
गत निर्वाचनमा कम्युनिस्टहरूलाई सखाप पार्ने रणनीति अन्तर्गत भएका पर्दाभित्रका खेलहरु बिस्तारै बाहिर आउने उहाले बताउनुभयो । देश राष्ट्रिय रूपमा पनि निकै अप्ठ्यारो ठाउँमा आइपुगेको भन्दै प्रचण्डले सच्चा कम्युनिस्टहरूको बीचमा एकताको आवश्यकता अहिले झन् विशेष रूपले बढेको उल्लेख गर्नुभयो ।
नेपालमा अझै पनि कम्युनिस्टहरूको प्रभाव जनतामा राम्रो रहेको र राष्ट्रिय स्वाधीनताको पक्षमा इमान्दारीता स–साथ लड्ने तागत कम्युनिस्ट तागत नै हो भन्ने जनताको विश्वास नमरेको उहाको भनाइ छ । संयोजक प्रचण्डले कम्युनिस्ट र सबै देशभक्तहरूको एकतामा केन्द्रित गरेर एउटा नयाँ अभियानतिर जान नसके दुर्भाग्य हुने धारणा राख्नुभयो ।
उहाले अहिले गणतन्त्रैमाथि लोकतान्त्रिक उपलब्धिहरूमाथि प्रहार हुने खतरा दिनप्रतिदिन बढेको महसुुस भएको बताउनुभयो । श्रमजीवी वर्गमाथि सरकारले प्रहार गरेर पीडा दिने कोसिस भएकाले कम्युनिस्ट एकता, देशभक्तहरूको एकता पूर्वशर्त जस्तै बनेको उहाको भनाइ छ ।


