२०८३ बैशाख २८, सोमबार ०७:०७

संकटमा परेको मधेश प्रदेश सरकारले बुधवार विश्वासको मत लिने भएको छ ।सत्ता साझेदार चार दलका नेताहरुको आइतवार बसेको बैठकले सरकारलाई निरन्तरता दिने निर्णय गरेको छ ।

चार दलका नेताहरुको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ‘आज मिति २०८३ वैशाख २७ गतेका दिन मधेश प्रदेश सरकारमा सहभागी सत्ता साझेदार दलका नेताहरुको बैठक बसी वर्तमान मुख्यमन्त्री माननीय कृष्ण प्रसाद यादवज्यूको नेतृत्वमा रहेको सरकारलाई निरन्तरता दिदै यथाशीघ्र विश्वासको मत लिने निर्णय गरियो ।’ बैठकमा मुख्यमन्त्री यादव, जनता समाजवादी पार्टी (जसपा)नेपाल दलका नेता सरोज कुमार यादव, नेपाली कम्युनिष्ट पार्टी-नेकपा)दलका नेता युवराज भट्टराई र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को प्रतिनिधि शिक्षा मन्त्री रानी शर्माको सहभागिता रहेको थियो ।

जसपा नेपाल दलका नेता सरोज कुमार यादवको आवासमा भएको बैठकमा सरकारको काम कारबाहीप्रति प्रश्न उठेको थियो । सरकारलाई दिएको समर्थन जनमत पार्टीले फिर्ता लिएपछि संकटमा परेको सरकारमा सो पार्टीका दुई जना अझै छन् ।जनमत पार्टीका महेश प्रसाद यादव अर्थ मन्त्री र वसन्त कुशवाहा खेलकुद तथा समाजकल्याण मन्त्री छन् । सरकारले उनीहरुलाई हटाएको छैन् ।तर विश्वासको मतमा साथ नदिए दुबै मन्त्रीलाई हटाइने सहमति भएको छ ।

‘एक, दुई दिन भित्र जनमत पार्टीका मन्त्रीले आफ्नो धारणा प्रष्ट गर्नुपर्छ’ नेकपा दलका नेता भट्टराईले भने, पार्टीको आन्तरिक मामिला रहेकोले उनीहरु मिलाएर धारणा प्रष्ट गर्ने छन् । बैठकमा जनमत पार्टी सहभागी नभए पनि विश्वासको मत दिनेमा भट्टराई विश्वस्त देखिए ।‘उनीहरु केही कुरामा लागेर अगाडि बढेका थिए’ उनले भने, तर अब उनीहरु फर्केर सरकारमा सहभागी हुनेछ । प्रदेश सरकारको काम कारवाहीप्रति दलहरु असन्तुष्ट रहेको जनाउँदै भट्टराईले भने, आगामी दिनमा कमीकमजोरी सच्याएर अगाडि बढने प्रतिबद्धता मुख्यमन्त्रीबाट आएको छ ।

बैठकमा सहभागी शिक्षा मन्त्री समेत रहेकी लोसपा नेतृ शर्माले काठमाण्डुमा रहेका दलका शीर्ष नेताहरुबीच सहमति भएपछि प्रदेशमा त्यसलाई औपचारिकता दिएको बताइन् ।‘शीर्ष नेताहरुबीच सरकारलाई निरन्तरता दिने विषयमा भएको सहमतिलाई हामीले आधिकारिकता दिएका छौ’ उनले भनिन् ,सरकारमाथि अब कुनै संकट छैन् ।

जनमत पार्टीका मन्त्रीहरुको विषयमा बैठकमा छलफल नभएको उनले बताइन् ।‘जनमत पार्टीको विषयमा छलफल नै भएन्’ उनले भनिन्, जनमत पार्टीको आन्तरिक विषय भएकाले त्यसमा प्रवेश गरिएन् । मधेश प्रदेशका पूर्व राज्यमन्त्री समेत रहेका जनमत पार्टीका सांसद सञ्जय यादवले सरकारबाट समर्थन फिर्ता लिएको ‘स्टेण्ड’बाट विचलित नभएको बताएका छन् ।‘मधेशी दलको नेतृत्वमा मधेश प्रदेशमा सरकार बन्नु पर्ने हाम्रो अडान कायमै छ ’उनले भने, नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्वमा हामी सरकारमा बस्न सक्दैनौ । मधेशवादी दलहरुकै सहमतिमा सरकारबाट समर्थन फिर्ता लिएको बताए पनि उनले नाम भने खुलाउन चाहेनन् ।

केन्द्रीय राजनीतिक परिस्थिति र दलहरुको आन्तरिक किचलोको कारण मुख्यमन्त्री हटाउने अभियानलाई तत्कालका लागि जसपा नेपालले विराम दिएको उच्चस्रोतले जनाएकाछन् ।

स्रोतका अनुसार अब अर्थमन्त्रीबाट महेश यादवलाई हटाएर जनमतको सिफारिसमा नै एकजनालाई मन्त्री बनाइने छ ।खेलकुद तथा समाजकल्याण मन्त्री कुशवाहा भने यथावत रहने छन् ।जनमतबाट चन्दन सिंह सरकारमा जाने सम्भावना बलियो रहेको स्रोतले जनाए । मधेश प्रदेशमा एमाले र नेपाली कांग्रेस दुबै दलले सरकारको नेतृत्व गरेको छ ।

कांग्रेस नेतृत्वको सरकारलाई दुई मधेशी दल जसपा नेपाल र लोसपा नेपालले विश्वासको मत दिने सहमति गरेको छ । मधेश प्रदेशमा एक सय सात जना सांसद मध्ये हाल एक सय जना मात्र छन् ।प्रतिनिधि सभाको चुनावमा भाग लिएको कारण चार जनाले राजीनामा गरिसकेका छन् ।दुई जना निलम्बनमा छन् ।

राप्रपाको एकजना सांसद सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भइसकेको छ । सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसको २२ जना, जसपा नेपालको १८ जना, नेकपाको १४ जना र लोसपाको ८ जनागरि ६२ जना सांसद रहेका छन् ।जनमत पार्टीले समर्थन फिर्ता लिएको कारण सरकारलाई विश्वासको मत लिन आवश्यक भएको छ ।

Comment


Related News

Latest News

Trending News