श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह जनताको प्रश्नबाट भाग्न खोजेको आरोप लगाउनुभएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा साम्पाङले जनताले सरकारमाथि धेरै प्रश्न गरिरहेको भन्दै प्रधानमन्त्री भने जनताको प्रश्नबाट भाग्न खोजेको बताउनुभएको हो । उहाले संसदमा उभिएर प्रश्नको उत्तर नदिनु भनेको जनताको उत्तर नदिनुभएको उल्लेख गर्नुभयो । जनताका प्रश्नहरूको उत्तर दिन नसक्नु भनेको अयोग्यता र असक्षमताको नमुना भएको समेत उहाले बताउनुभयो । उहाले जनता सरकारले असुरक्षित महशुस गरिरहेको बताउनुभयो । जनताको सुरक्षा गर्न नसक्ने र सीमा रक्षा गर्न नसक्ने सरकारर्लाइ सफल सरकार भन्न नसकिने उहाले बताउनुभयो । उहाले सदनमा नभएपनि पत्रकार सम्मेलन गरेर जनताको उत्तर दिन प्रधानमन्त्रीलाई सुझाव दिनुभयो ।
त्यस्तै राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अव्यवस्थीत बस्तीमा जथाभावी डोजर चलाइएको भन्दै उहाले सत्ताको आडमा जे पनि गर्न सकिन्छ भन्ने नसोच्न सरकारलाइ सुझाव दिनुभयो । अव्यवस्थित बस्ती जोगाउनु पर्छ भन्ने मान्यता आफ्नो नभएपनि सरकार आतंकवादी जस्तो भएर प्रस्तुत हुन नहुने उहाको भनाइ छ । उहाले वाग्मती किनारमा नागरिकको ओत भत्किँदा सरकारलाइ पीडा महसुस हुनुपर्ने धारणा राख्नुभयो ।
उहाले मन्त्रिपरिषद्का सदस्यसम्म हुकुमवासी भएको प्रत्यक्ष प्रमाणहरु बाहिरिदा त्यसमा भने सरकारले डोजर नचलाएको बताउनुभयो ।


