संघीय सरकारको श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवका सवारी चालक पक्राउ परेका छन् ।प्रहरीले अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहारको कसुरमा मुस्तकिम आलम मियाँलाई नियन्त्रणमा लिइएको छ ।
सप्तरीको महादेवा गाउँपालिका–१, बल्थी घर भइ राजविराज नगरपालिका–३, पोख्रेल टोल बस्ने २७ वर्षीय उनलाई हिजो साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय,सप्तरीले जनाएको छ । मियाँ श्रममन्त्री यादवको निजी सचिवालयमा नियुक्त छन् । २०८२ चैत २७ गतेको मितिदेखि मन्त्री यादवले मुस्तकिम आलम मियाँलाई हलुका सवारी चालकमा नियुक्त गरेका थिए । मुस्तकिमलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीले वैशाख २४ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।
मुस्तकिम सहितले हनुमानचोकमा बस्ने एक हिन्दू युवालाई अपहरण गरेर अमानवीय व्यवहार गरेका थिए । उनीहरुले ती युवालाई नग्न बनाएर भिडियो बनाउँदै थुक चाट्न लगाएका थिए । प्रहरीले जनाए अनुसार घटना २०८२ फागुन १४ गतेको हो । बिहान ८ बजे उनीहरुले बा.९९ प ५७७५ नम्बरको मोटरसाइकलले युवकलाई घेरा हालेर अपहरण गरेका थिए । त्यसपछि ती युवालाई हिमालय राइस मिल पछाडिको सुनसान स्थानमा लगेर कुटपिट गर्नुका साथै नांगो पारी भीडीयो उनीहरुले बनाएका थिए ।
पीडितले आफ्नो लिङ्ग काटिदिने धम्की दिएको,मोबाइल र सुनको सिक्री लुटेको बताएका छन् ।पीडितसित रहेको १ लाख ३० हजार रुपैयाँ पनि उनीहरुले लगेको आरोप पत्रमा उल्लेख छ । पीडितले मुस्तकिमसँगै जुनेद मियाँ,एकवाल मियाँ र आदित्यकुमार यादवविरुद्ध प्रहरीमा अपहरण वा शरीर बन्धक र अपमानजनक अमानवीय व्यवहारसम्बन्धी कसुरमा जाहेरी दिएका थिए ।
मुस्तकिमको राजनीतिक पहुँच भएको कारण प्रहरीले पक्राउ पुर्जी लिन आलटाल गरिरहेको थियो ।पीडित लगायतले कारबाही नगरिए माथिल्लो निकायसम्म जाने बताएपछि प्रहरी सक्रिय भएको बताइएको छ । अदालतले मुस्तकिम सहितलाई पक्राउ गर्न अनुमति दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
मुस्तकिमलाई अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाका अनुसार मन्त्री यादवलाई मुस्तकिमले गरेको घटनाबारे जानकारी थियो ।उनकै संरक्षणमा प्रहरीले पक्राउ गर्न ढिलाइ गरिरहेको आरोप लगाइएको छ ।यस सम्बन्धमा मन्त्री यादवले कुनै प्रतिक्रिया जनाएका छैनन् ।तर उनका चालक मुस्तकिमको त्रूmरतापूर्ण कार्यको लागि कडा सजाय हुनुपर्ने माग भइरहेको छ ।


