सिरहाको बरियारपट्टीबाट हराएका ३ वर्षीय बालक अभियान्स यादवको शव फेला परेका छन् । बालकको शव पोखरीमा फेला परेको र शरीरका गम्भीररुपमा चोटपटक लागेको तथा हातखुट्टा काटेर फालिएको अवस्थामा शव पाइएको सिरहा प्रहरीले जनाएको छ ।
लक्ष्मीपुर पतारी गाउँपालिका–३ मा पर्ने लबटोलीका भोगेन्द्र प्रसाद यादवका ३ वर्षीय छोरा अभियान्स तीनदेखि हराएको थियो । उनी दिउँसो आफ्नो आमा अमृत यादवसंग बरियारपट्टी गाउँपालिका–४ मा पर्ने सोहपुर गएका बेला हराएका थिए । परिवारले खोजतलास गर्दा फेला नपरेपछि साँझ इलाका प्रहरी कार्यालय बरियारपट्टीमा जानकारी गराएको थियो ।
इलाका प्रहरी कार्यालय लक्ष्मीपुरका प्रहरी नायब निरीक्षक ज्योती प्रकाश कार्कीको नेतृत्वमा खटिएको टोलीले खोजी कार्य जारी राखेको अवस्थामा बालकको शव स्थानीय पोखरीमा फेला परेको छ । सिरहा प्रहरीले बालको शवको अवस्था शंकास्पद देखिएकाले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाइएको जनाएको छ ।
बालकको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ । प्रारम्भिक जानकारी अनुसार बालकका आमा–बुबाबीच विगत तीन वर्षदेखि पारिवारिक कलह थियो । बुबा वैदेशिक रोजगारीमा रहेका तथा आमा माइतीमै बस्दै आएकी थिइन् ।


