अपडेट 
२०७७ बैशाख २६, शुक्रबार १५:३१

कैलाली । धनगढी उपमहानगरपालिका–२ स्थित दीप टोल नजिकै चार बिघा जमिन लिजमा लिई व्यवसायिकरुपमा तरकारी खेती गर्दै आएका मुमताज गुप्ता उत्पादन भएको तरकारी बारीमै बिग्रिन थालेपछि चिन्तित भएका छन् ।

“बारीमा उत्पादन भएको तरकारी धनगढीको त्रिनगर कृषि उपज हाटबजार, चौराहाको रामजानकी सब्जीमन्डी र बजारका होटेलमा बिक्री गर्ने गर्थे”, उहाँले भन्नुभयो, “लकडाउनले बजार पूर्णरुपमा ठप्प भएपछि बिक्री गर्न एकदमै मुस्किल भएको छ ।” उहाँले होटेल तथा फुटपातमा लगाइएका ठेलामा चाउमिन, ममलगायत परिकारका लागि विशेषगरी प्रयोगमा आउने बन्दाको तरकारी त पूरैका पूरै बारीमै रहेको बताउनुभयो ।

बारीमै फुटकर तरकारी लिने ग्राहक आउने गरेको भए पनि त्यो बिक्रीले व्यवसायमा केही हलचल नहुने उहाँको भनाइ छ । “दिनमा आठ÷दश किलो तरकारी बिक्री हुने गरेको भए पनि त्यो बिक्रीले आफ्नो लगानीसमेत उठ्दैन । उहाँले लकडाउनअघि तीनदेखि पाँच क्विन्टलसम्म तरकारी बजार जाने गथ्र्याे तर हिजोआज अत्यन्त न्यून बिक्री भएका कारण ठूलो परिमाणमा उत्पादन भएका तरकारी त्यत्तिकै बारीमा खेर गइरहेको बताउनुभयो ।

अहिले बारीमा २५ क्विन्टल पाकेको गोलभेडा, ६० क्विन्टलभन्दा बढी बन्दागोबीलगायत तरकारी बिक्रीका लागि तयारी अवस्थामा छन् तर कहाँ लगेर त्यो बिक्री गर्ने समस्या भइरहेको उहाँको गुनासो छ । “गत चैत ११ गतेदेखिको बन्दले अब त जमिनवाला साहुलाई भाडा तिर्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “जमिनको भाडा कहाँबाट दिने र परिवार जहान कसरी पाल्ने भनेर चिन्ता लागेर राति निद्रा लाग्नसमेत छोड्यो ।”

उहाँले लकडाउन खुल्ने आसैआसमा एक दुई हप्ता गर्दा गर्दा झण्डै दुई महिना पुग्न थालिसक्यो, कहिले खुल्ने हो अब त खुल्ला र तरकारी बिक्री गरौँला भन्ने आस मर्न थालिसकेको बताउनुभयो । लकडाउन खुलुन्जेलसम्म त बारीको तरकारी कुहेर कामै नलाग्ग्ने भइसक्ने उहाँको भनाइ छ । आफूले तरकारी बिक्री गर्ने गरेको कृषि उपज हाटबजार, होटेललगायत मानिसको भीडभाड हुने क्षेत्र त झनै अहिले खुल्न सक्ने कुनै सम्भावना नभएको उहाँले विचार व्यक्त गर्नुभयो ।

पाँच वर्षदेखि जमिन लिजमा लिई व्यावसायिकरुपमा तरकारी खेती गर्दै आएका गुप्ताले वार्षिक रु आठदेखि १० लाख जति फाइदामात्र हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “विगत सिजनमा तरकारी व्यवसायबाट निकै आम्दानी हुने गथ्र्याे तर अहिलेको समस्याले व्यवसाय पूरै घाटामा छ, लगानी उठ्न पनि मुस्किल छ ।”

बन्दाबन्दीले व्यवसायमा त अप्ठ्यारो नै पर्न थाल्यो हुँदाहुँदै परिवारको लालनपालनका लागि खर्च जुटाउनसमेत समस्या हुन थालेको उहाँको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News