२०८३ बैशाख ३१, बिहीबार १५:३३

रौतहटका प्रमुख जिल्ला अधिकारी ९सिडियो० दिनेश सागर भुसालले जिल्लामा रासायनिक मलको अभाव नरहेको स्पष्ट पार्दै कृत्रिम अभाव सिर्जना गरेर किसानलाई दुःख दिने जो–कोहीलाई कानुनी दायरामा ल्याइने चेतावनी दिएका छन्।

बिहीबार गुजरा नगरपालिकाको सभाहलमा आयोजित नागरिकसँगको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै सिडियो भुसालले साल्ट ट्रेडिङ गौर र कृषि सामग्री संस्थान चन्द्रनिगाहपुरबाट नियमित रूपमा मल आपूर्ति भइरहेको जानकारी आफूले पाएको बताए। मल वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन स्थानीय तहका उपप्रमुखहरूलाई नियमित अनुगमन गर्न समेत उनले आग्रह गरे।

उनले प्रशासनले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सहज बनाएको उल्लेख गर्दै अब राहदानी हुलाकमार्फत सेवाग्राहीको घरमै पुर्‍याउने तयारी भइरहेको जानकारी दिए।

सिडियो भुसालले मिटर ब्याजविरुद्ध सरकार कडाइका साथ लागेको बताउँदै वास्तविक सुकुम्बासीको व्यवस्थापनमा राज्य गम्भीर रहेको धारणा राखे। साथै सरकारी जग्गा अतिक्रमण हटाउने अभियान अघि बढाइएको र स्थानीय तहसँग तथ्यांक संकलनको काम जारी रहेको बताए।

मनसुन नजिकिँदै गर्दा विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी भइरहेको उल्लेख गर्दै उनले बाढीजन्य जोखिम न्यूनीकरणमा प्रशासन सक्रिय रहेको बताए।

कार्यक्रममा रौतहटका प्रहरी प्रमुख एसपी सिताराम रिजालले बालविवाह, बहुविवाह तथा भागी विवाह समाजका गम्भीर चुनौती बन्दै गएको बताए। उनले जातीय विभेद, बोक्सी आरोप, साइबर अपराध, मिटर ब्याज, चेक बाउन्स र सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रणका लागि सामूहिक सचेतना आवश्यक रहेको धारणा राखे।

गुजरा नगरपालिकाका मेयर शन्तलाल चौधरीले जनताको काम छिटो, सहज र प्रभावकारी रूपमा हुनुपर्नेमा जोड दिँदै नगर क्षेत्रका विकास र जनसरोकारका विषयमा आफ्नो धारणा राखेका थिए।

मेयर चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपमेयर रत्ना लामा, इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव माधव शर्मा, सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकी, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी रुपा लाबुङ, नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष संजय कार्की, महिला तथा बालबालिका सेवा केन्द्र गरुडाकी प्रमुख सई दीपिका ओझा, इन्सेक प्रतिनिधि गौरी न्यौपाने, जनप्रतिनिधि, वडाध्यक्ष तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

Comment


Related News

Latest News

Trending News