२०८३ जेष्ठ १, शुक्रबार ०७:०२

मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश कुमार यादवले कानुनी मर्यादा विपरीत गरेको पाइएपछि पदबाट बर्खास्त गरिएको छ ।

मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले यादवलाई कार्यवाहक अध्यक्षसहितको पदबाट सोमबार नै पदमुक्त गरिएको जनाएको छ । कार्यवाहक अध्यक्षको पदीय जिम्मेवारीमै रही सरकारी तलबभत्ता र सेवा सुविधा लिइदैँ आएका यादवले प्रदेश सरकारविरुद्धमा नै गतिविधि गरेको पाइएको तथा मिडिया काउन्सिलको कार्यालयको बोर्डबाट मधेश प्रदेश सरकार एवं गृह, सञ्चार तथा कानुन मन्त्रालय भन्ने शब्द नै नलेखी झुण्ड्याएको अवस्थामा पाइएपछि बोर्डको सदस्यसमेत नरहने गरी बर्खास्त गरिएको बताइन्छ ।

केही साता अघि जनकपुरधामस्थित पूर्वाधार विकास कार्यालय धनुषामा यादवले आफ्नै अगुवाइमा पदीय मर्यादा र कानुन विपरीत तालाबन्दी गरेको पाइएपछि मन्त्रालय समक्ष गुनासो आएपछि स्पष्टीकरण सोधिएको थियो । यससंगै यादवले पदमै रहेकै बेला मिडिया काउन्सिलको कार्यालयको बोर्डबाट मधेश प्रदेश सरकार र गृह, सञ्चार तथा कानुन मन्त्रालयसमेत हटाइएको पाइएपछि पनि स्पष्टीकरण पटकपटक सोधिएको थियो ।

तर चित्तबुझ्दो जवाफ नदिएपछि कार्यवाहक अध्यक्षको पदसमेतबाट पदमुक्त गरिएको गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले जानकारी दिए । गृहमन्त्री महतोले पटकपटक चित्त बुझ्दो र जिम्मेवारीबोध गर्दै स्पष्टीकरण दिन आग्रह गरेका थिए । तर यादवले मन्त्रीसमेतलाई बेवास्ता गर्दै पदीय मर्यादा विपरीत कानुनको ख्यालै नगरी प्रदेश सरकारविरुद्धको गतिविधिमा समेत सक्रियतापूर्वक लागेको पाइएपछि पदमुक्त गरिएको मन्त्री महतोले स्पष्ट पारे ।

मिडिया काउन्सिलमा अब नेपाल पत्रकार महासंघ मधेश प्रदेशका एकजना पदेन सदस्य र तीन जना सदस्य गरी चारजना छन् । काउन्सिलका अध्यक्ष कमल उपाध्यायमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी मुद्दामा कसुर अभियोग लगाएपछि उनी पदमुक्त भएका थिए । त्यसपछि यादव कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

Comment


Related News