मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रवार प्रदेश सभामा विश्वासको मत लिने भएका छन् । सत्ता साझेदार जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका छन् ।
गत २२ गते जनमत पार्टी संसदीय दलका नेता चन्दन सिंहले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता गरेका थिए । सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि जनमत पार्टीका दुई जना महेशप्रसाद यादव अर्थ मन्त्री र वसन्त कुशवाहा खेलकुद तथा समाजकल्याण मन्त्री छन् ।उनीहरुले विहिवार रातिसम्म सरकार छाडेका छैनन् । तर मन्त्री द्वयले विश्वास मत अघि नै राजीनामा दिने स्रोतको दाबी छ , दलका नेता सिंहले प्रदेश सभामा विपक्षी तर्फको बेञ्चमा बस्ने व्यवस्था मिलाउन प्रदेश सभा सचिवालयमा पत्र पठाइसकेका छन् ।‘सरकारबाट समर्थन फिर्ता लिएपछि दलको निर्णय अनुसार विपक्षमा बस्ने जानकारी प्रदेश सभालाई गराएको छु ’सिंहले भने, विश्वास मतको बिरोधमा मतदान गर्न ह्विप जारी भएकाले सबै सदस्य त्यसमा सहभागी हुनेछन् ।
जनमतले विश्वासको मतको विरोधमा मतदान गरे पनि सरकारलाई त्यसको असर पर्ने छैन् ।नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी(जसपा)नेपालको २६, नेकपा माओवादी र नेकपा एसको ७/७ जना सांसदगरि कुल ६२ जना सांसद सरकारको पक्षमा रहेका छन् । सरकारलाई विश्वासको मतका लागि ५२ जना सांसदको समर्थन भए पुग्ने छ ।
प्रदेश सभामा एमालेका १ जना , माओवादीका २ जना, जनमत पार्टीका १ जना सांसद पदमुक्त भइसकेका छन् ।२ जना निलम्बनमा छन् । प्रदेश सभामा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सरकारप्रति सकारात्मक रहेको जनाएको छ ।एमाले दलका नेता समेत रहेका पूर्व मुख्यमन्त्री सरोज यादवले सरकारको व्यवहारबाट सांसदहरु असन्तुष्ट रहेको बताए ।‘सांसदहरुसित धोका भएको छ ’ उनले भने, तर हामी सरकारप्रति सकारात्मक छौ ।
विश्वासको मतका लागि शुक्रवार बिहान ११ बजे प्रदेश सभाको बैठक डाकिएको छ ।एमालेले विश्वासको मत दिने, नदिने विषयमा स्पष्ट धारणा सार्वजनिक नगरे पनि सकारात्मक रहेको बताएको छ । एमालेले सरकारलाई विश्वासको मत दिए अथवा तटस्थ बसे पनि सरकारको विपक्षमा जनमत पार्टी मात्र रहने छ ।
केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रदेश सरकारको विषयमा सहमति बनेकोले पनि मधेश प्रदेशमा सरकारलाई विश्वासको मत दिने सम्भावना बढेको छ ।एमालेले विश्वासको मत नदिए पनि सरकार ढल्ने सम्भावना रहेको छैन् ।एमालेले विश्वासको मत दिएर सरकार ढाल्ने खेललाई कमजोर बनाउने रणनीति बनाएको बताइन्छ ।
जसपा नेपालसितको सहकार्यमा नै जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको थियो ।तर जसपा नेपालले आफ्नो रणनीति बदलेसँगै जनमत पार्टी एक्लिएको छ । नेकपा एस र माओवादी केन्द्रले एमाले नेतृत्वको सरकार बनाउने पक्षमा नरहेकोले कांग्रेस नेतृत्वको सरकार ढाल्न सहज देखिदैन् ।
एमालेको समर्थनबाट जसपा नेपालले सरकार बनाउने प्रयास गरे पनि नेकपा एस र माओवादी केन्द्रको कारण ब्रेक लागेको हो । जसपा नेपालबाट राजकुमार गुप्ता-राजु गुप्ता) भौतिक पूर्वाधार विकास मन्त्री , मनिष सुमन श्रम तथा यातायात मन्त्री र रानी शर्मा शिक्षा तथा संस्कृति मन्त्री रहेका छन् ।प्रदेशको सभामुख पनि जसपा नेपालले पाएको छ ।
कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने बखत आधी कार्यकाल जसपा नेपालले चलाउने सहमति भएको हो ।कांग्रेसले त्यस अनुसार साउनमा जसपा नेपाललाई सत्ता हस्तांतरण गर्नुपर्ने छ । संघीय सरकारले प्रदेशको विषयमा स्पष्ट नभएकोले प्रदेशको चुनाव अगावै हुने अथवा निर्धारित समयमै हुने अनिश्चित छ ।
स्थानीय तहको निर्वाचन र प्रदेश सभाको निर्वाचन एकै साथ गराउन निर्वाचन आयोगले सरकारलाई यस अघि नै सुझाव दिइसकेको छ । सरकारको नेतृत्व लिन जसपा नेपाल हतारमा रहेको कांग्रेसका सांसदहरुले टिप्पणी गरेका छन् ।एमालेले आफ्नो नेतृत्वमा सरकार नबने कांग्रेसकै नेतृत्व ठिक रहेको रणनीति बनाएकोले यादव नेतृत्वको सरकार कार्यकाल पूरा गर्ने संभावनापनि रहेको बताइन्छ ।


