२०८३ जेष्ठ २, शनिबार ०७:१२

सत्तारुढ नेपाली कांग्रेसबाट नै फ्लोर क्रसको अवस्था देखेपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत शुक्रबार नलिइ अब यही जेठ ८ गते विश्वासको मत लिने भएका छन् ।

शुक्रबार विहान ११ बजे मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेश सभाको कार्यतालिका तय गरिएको थियो । तर आफ्नै पार्टी भित्रबाट फ्लोर क्रस हुने सम्भावना देखेपछि मुख्यमन्त्री यादव सहमति जुटाउन छलफलमा जुटेका थिए । जनमत पार्टीले दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवलाई विश्वासको मत एक महिनाभित्रमा लिनुपर्ने व्यवस्था छ । तर शुक्रबार लिने भनिएको विश्वासको मत हाउसको कार्यसूचीमा फेरबदल भएको पाइएपछि सत्ता पक्ष र विपक्षका सांसदहरुले समेत असन्तुष्टि पोखे ।

मुख्यमन्त्री यादवले आफ्नै पार्टीभित्रबाट विश्वासको मत नपाउने थाहा पाएपछि उनले पटकपटक आफ्नै दलका प्रदेश सांसद, सत्तागठबन्धनका सांसद, विपक्षी दलका नेताहरुसंग र अन्तमा कार्यव्यवस्था परामर्श समितिको बैठकबाट सहमति पश्चात जेठ ८ गते विश्वासको मत लिने र शुक्रबार सातौँ अधिवेशनको प्रथम बैठक भएकाले शुभकामना मन्तव्यपछि हाउस स्थगन गर्ने निर्णय भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेसका करिब ६ जना प्रदेश सांसदले असन्तुष्टि जनाएपछि विहान ११ बजे बस्ने भनिएको बैठक करिब चार घण्टापछि बसेको थियो । यसअघि जसपा नेपालले पनि मुख्यमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विश्वासको मत नदिने भनेपछि मुख्यमन्त्री यादव नेतृत्वको सरकारमाथि संकट मडारिन पुग्यो ।

हाउस सञ्चालन अघिसम्म सबै दलका नेताहरुसंग बसेर मुख्यमन्त्री यादवले यही जेठ ८ गते बस्ने गरी सदन स्थगनका लागि लविंग थालेका थिए । यसक्रममा जसपा नेपाल, नेपाली कांग्रेसभित्रको असन्तुष्टि साम्य भएपछि मुख्यमन्त्री यादवका लागि स्थिति सहज बने पनि शुक्रबार नै विश्वासको मत लिने माहोल भने बनेन ।

जसपा नेपालका प्रदेश सांसदसमेत रहेका पूर्वमुख्यमन्त्री लालबाबु राउतले आफूहरु वर्तमान सरकारकै पक्षमा रहेको बताए । उनले जसपा नेपालको समेत समर्थन रहेकाले तत्काल सरकार फेरबदलको खेलमा आफूहरु नरहेको प्रस्ट्याए । मुख्यमन्त्री यादवले गुपचुप रुपमा हाउस छल्ने गरी अन्तिम समयमा कार्यसूची परिवर्तन गरिएको विषयलाई लिएर जनमत पार्टीले कडा आपत्ति जनाएको छ ।

जनमतका प्रदेश सांसद संजय कुमार यादवले सभामुखले ‘छापामार शैलीÚमा नियमावली विपरीत कार्यसूची हेरफेर गरेको आरोप लगाए । उनले प्रश्न गर्दै भने, ‘हामीले अध्ययन गरेको नियमावलीको कुन कानुन टेकेर सभामुखज्यूले कार्यसूची हेरफेर गर्नुभयो।

जनमतमा कुर्सी मोह, जसपा नेपाल अलमलमा

प्रदेशसभामा जनमत पार्टीबाट अर्थमन्त्री बनेका महेशप्रसाद यादव र खेलकुद तथा समाज कल्याण मन्त्री बसन्त कुमार कुशवाहाले राजीनामा दिने भनिए पनि कुर्सी मोहका कारण एकजना हाउसमै आएनन् भने अर्का एकजना मन्त्री विपक्षी दलको कुर्सीमा बसेको पाइयो ।

जबकी हाउसमा दुबैजना मन्त्रीका लागि सत्ता पक्ष र प्रतिपक्ष गरी दुबै तर्फको बेन्चमा कुर्सी व्यवस्था गरिएको थियो । तर अर्थमन्त्री यादवले हाउसमै राजीनामा दिने भनिए पनि उनी आएनन् भने अर्का खेलकुदमन्त्री कुशवाहा हाउसमा आएर पनि जनमतका सांसदहरु बसेको ठाउँमै बसे । तर राजीनामा भने दिएनन् ।

त्यस्तै हालै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालको एकीकरण पछि बनेको जसपा नेपाल मधेश प्रदेशसभामा पनि एकता भइसकेको छ । तर लोसपाबाट जितेन्द्र सोनलले शुक्रबार बसेको हाउसको बैठकमा आफू पनि संसदीय दलको नेता रहेको दाबी गर्दै सभामुखसंग कुर्सीको व्यवस्था गर्न माग गरे ।

जसपा नेपालमा खटपट उत्पन्न भएपछि सभामुख राम अशिष यादवलाई मिलाउन निकै कठिनाइको सामना गर्नु परेको थियो । जसले गर्दा जसपा नेपालभित्र पनि एक पक्षले मुख्यमन्त्री यादवलाई विश्वासको मतमा समर्थन नगर्ने भन्दै अड्डी कसेका थिए ।

Comment


Related News

Latest News

Trending News