२०८३ जेष्ठ २, शनिबार ०७:१६

साउदी अरबको महत्वाकांक्षी ‘नियोम’ गिगा–सिटी परियोजना सुस्ताएपछि त्यहाँ कार्यरत हजारौँ नेपाली श्रमिक रोजगारी गुमाएर स्वदेश फर्किन बाध्य भएका छन् । तावुक क्षेत्रमा निर्माणाधीन ट्रजेना स्की भिलेज र ‘द लाइन’ लगायतका परियोजनाका ठेक्का रद्द तथा स्थगित भएपछि नेपाली श्रमिकको भविष्य अन्योलमा परेको छ ।

वैदेशिक रोजगारीमा रहेका महोत्तरीका रिजवान अन्सारी १६ महिनादेखि ट्रजेना स्की भिलेजमा स्काफोल्डिङको काम गर्दै आएका थिए । करार अवधि सकिन अझैँ आठ महिना बाँकी रहँदै नै उनी गत अप्रिलमा नेपाल फर्किनु परेको थियो । उनका अनुसार उक्त परियोजनामा मात्रै करिब तीन हजार नेपाली कार्यरत थिए । जसमध्ये अधिकांशलाई कम्पनीले फर्काइ सकेको उनको भनाइ छ ।

केहीलाई अन्य परियोजनामा सारिएको छ भने केहीलाई साइट बन्द गर्ने काममा राखिएको छ । नियोम परियोजना सन् २०१७ मा साउदी युवराज मोहम्मद बिन सलमानले ‘भिजन–२०३०’ अन्तर्गत घोषणा गरेका थिए । तेलमा निर्भर अर्थतन्त्रलाई पर्यटन, प्रविधि र हरित ऊर्जातर्फ रूपान्तरण गर्ने लक्ष्यसहित सुरु गरिएको परियोजनामा ‘द लाइन’, ट्रजेना, अक्सगन र सिन्धला मुख्य योजना थिए । तर पछिल्लो समय लागत वृद्धि, तेलको मूल्यमा गिरावट र मध्यपूर्वको भूराजनीतिक तनावका कारण परियोजना संकटमा परेको छ । विदेशी सञ्चारमाध्यमले जनाए अनुसार ‘द लाइन’ परियोजनाको लागत ८.८ ट्रिलियन अमेरिकी डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ । सार्वजनिक लगानी कोषमाथि दबाब बढेपछि साउदी सरकारले परियोजनाको दायरा घटाउन थालेको छ ।

‘द लाइन’ को निर्माण औपचारिक रूपमा स्थगित गरिएको र ट्रजेनामा हुने २०२ ९ को एसियाली शीतकालीन खेलकुद पनि अनिश्चितकालका लागि रोकिएको जनाइएको छ । परियोजना सुस्ताएपछि ठूलो संख्यामा विदेशी श्रमिक प्रभावित भएका छन् । नेपाली अधिकारी र श्रमिकहरूको अनुमानअनुसार नियोम क्षेत्रमा प्रत्यक्ष वा सप्लाई कम्पनीमार्फत करिब ८० हजार नेपाली कार्यरत थिए ।

अहिले हजारौं नेपाली फर्किन थालेका छन् । ट्रजेना परियोजनामा मात्रै कार्यरत नेपाली श्रमिकले मासिक करिब १८ करोड रुपैयाँ बराबरको आम्दानी गुमाएको बताइएको छ । चितवनका सुशील विकका अनुसार श्रमिक बस्ने क्याम्पहरू खाली हुँदैछन् । दैनिक सयौं श्रमिक घर फर्किरहेका छन् । केही श्रमिकलाई साइट क्लियर गर्ने र उपकरण हटाउने कामका लागि अस्थायी रूपमा राखिएको छ ।

‘काम सकिएपछि हामी पनि फर्किने हो,’ उनले भने । ‘द लाइन’ परियोजनामा कार्यरत बुटवलका उमेश तिवारीका अनुसार हजारौं श्रमिकले एकैपटक रोजगारी गुमाएका छन् । उनका अनुसार १०–१० हजार क्षमता भएका तीनवटा क्याम्प खाली भइसकेका छन् । कतिपयलाई साउदीकै अन्य परियोजनामा सारिएको भए पनि धेरैलाई स्वदेश पठाइएको छ । नेपाली श्रमिकहरूले नियोम परियोजनामा तलब र सुविधा राम्रो रहेको बताएका छन् ।

नवलपरासीका गणेश कार्कीका अनुसार क्याम्प व्यवस्थापन अन्य परियोजनाभन्दा निकै राम्रो थियो । नियमित तलब, निःशुल्क खाना, सरसफाइ र आवास सुविधाका कारण श्रमिकहरू सन्तुष्ट थिए । तर परियोजना बन्द हुन थालेपछि उनीहरू भविष्यप्रति चिन्तित बनेका छन् । पूर्वराजदूत उदयराज पाण्डेले नियोमजस्ता मेगा परियोजना सुस्ताउँदा नेपालमा रेमिट्यान्स, पुनःरोजगारी र श्रम बजारमा गम्भीर असर पर्ने बताएका छन् । वैदेशिक रोजगार बोर्डका पूर्व कार्यकारी निर्देशक राजन श्रेष्ठका अनुसार खाडी क्षेत्रमा निर्माण परियोजना सुस्ताउँदा नेपाली श्रमिकका अवसर थप खुम्चिने खतरा बढेको छ ।

Comment


Related News

Latest News

Trending News