२०८३ जेष्ठ २, शनिबार १६:०४

रौतहटको सीमावर्ती बौधिमाई नगरपालिकाका मेयर प्रदीप यादव पुनः विवादमा तानिएका छन्। नगरकै विद्यालयमा कार्यरत एक शिक्षकलाई घण्टौँ नियन्त्रणमा राखेर कुटपिट गरिएको आरोप सार्वजनिक भएपछि घटनाले स्थानीय तहमा तरंग पैदा गरेको छ।

शंकर गुदर माध्यमिक विद्यालय, सरमुजावाका शिक्षक रामबाबु यादवले आफूलाई छलफलका लागि भन्दै नगरपालिकामा बोलाएर दुर्व्यवहार गरिएको बताएका छन्। उनका अनुसार नगरपालिका लेखापाल तथा शिक्षा संयोजक रमेश यादवको आग्रहमा शुक्रबार कार्यालय पुगेपछि मेयर प्रदीप यादव, वडाध्यक्ष विन्देश्वर यादव र कार्यपालिका सदस्य सुनिल जयसवालसहितको समूहले आफूलाई एउटा कोठाभित्र नियन्त्रणमा राखेको थियो।

पीडित शिक्षक यादवको दाबी अनुसार दिउँसो करिब २स:३० बजेदेखि राति ९ बजेसम्म आफूलाई बाहिर निस्कन नदिई गालीगलौज, मानसिक दबाब तथा कुटपिट गरिएको थियो। उनले ज्यान मार्ने धम्कीसम्म दिइएको आरोप लगाएका छन्।

घटनापछि न्यायको माग गर्दै प्रहरीसमक्ष पुगेका यादवले प्रभावकारी सुनुवाइ नभएको गुनासो गरेका छन्। स्थानीयवासीले पनि घटना सार्वजनिक भइसक्दा समेत सम्बन्धित निकाय मौन बसेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी बिष्णु प्रदीप बस्यालले घटनासम्बन्धी लिखित निवेदन प्राप्त भएको पुष्टि गरेका छन्। उनका अनुसार शिक्षक यादवको घाउ जाँचसमेत गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यता मेयर प्रदीप यादवले भने आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेका छन्। उनले शिक्षक रामबाबु यादवले यसअघि सामाजिक सञ्जाल फेसबुकमार्फत नगरपालिकाका जनप्रतिनिधिविरुद्ध अभद्र टिप्पणी गरेको भन्दै स्पष्टीकरण माग गरिएको बताए।

मेयर यादवका अनुसार शिक्षक यादवले “म्यादी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, म्यादी वडा अध्यक्ष र म्यादी मेयरले नैतिकता भए पदबाट राजीनामा देऊ” भन्ने आशयको पोस्ट गरेका थिए। सोही विषयमा कार्यपालिका बैठकमा छलफलका लागि बोलाइएको भए पनि थुनछेक वा कुटपिट नगरिएको उनको दाबी छ। “हामीले नैतिकताको पाठ मात्र सिकाएका हौँ,” मेयर यादवले बताएका छन्।

स्थानीयका अनुसार मेयर यादवमाथि यसअघि पनि कर्मचारीमाथि दुर्व्यवहार, स्वास्थ्यकर्मीलाई शौचालयमा थुन्ने, शिक्षकलाई नियन्त्रणमा लिएर हातपात गर्ने, योजना प्रमुखलाई डोरीले बाँध्ने लगायतका आरोप लाग्दै आएका छन्।

केही दिनअघि मधेश प्रदेशकी रानी शर्मा सँग पनि विवाद भएको चर्चा चलेको थियो। मन्त्रालय परिसरमा भएको भनिएको उक्त घटनापछि प्रहरीको सहयोगमा उनलाई बाहिर निकालिएको विषय सामाजिक सञ्जालमा चर्चामा आएको थियो।

लगातार विवाद र आरोप सार्वजनिक भइरहँदा पनि सम्बन्धित निकायबाट ठोस कदम नचालिएको भन्दै स्थानीयले प्रश्न उठाएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।

Comment


Related News

Latest News

Trending News