अपडेट 
२०७७ बैशाख २७, शनिबार ०७:४१

राजविराज । सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नम्बर १ मा रहेको क्वारेन्टाइनबाट १९ जना भारतीय नागरिक वेपत्ता भएका छन् ।नगरपालिकाले बनाएको कोसी ब्यारेजको कोसी निम्न माध्यमिक विद्यालय क्वारेन्टाइनबाट बुधवार राती १९ जना भारतीय नागरिक वेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार विहिबार बिहान क्वारेन्टाइनमा १९ जना मानिस थिएन् ।उनीहरुको झोला, जुत्ता, चप्पलहरु सुत्ने कोठामा नै रहेको तर मानिस नभएको प्रहरीले जनाएको छ ।

क्वारेन्टाइनमा ७२ जना भारतीय नागरिक रहेका थिए ।नेपालको विभिन्न भागबाट आएका मजदुरहरु बिहार र पश्चिम बंगाल जाने क्रममा कोसी नदीबाट प्रदेश १ मा छिर्न नदिएपछि उनीहरुलाई हनुमाननगर कंकालिनी नगरपालिकाको क्वारेन्टाइनमा राखिएको हो ।उनीहरु १४ दिनदेखि त्यहाँ रहेको बताइएकोछ ।


बिहार राज्यको सीमा जोडिएकाले उनीहरु गाउँ तर्फ राती गएको हुन सक्ने अनुमान गरिएकोछ ।प्रहरीले खोजी भइरहेको बताएपनि हाल सम्म कोही फेला परेको छैन् ।

देशको विभिन्न भागबाट आएका तर गन्तव्य सम्म जान नपाएर कोसी नदी छेउमा अलपत्र परेका भारतीय नागरिकहरुलाई विद्यालयमा सुरक्षित वासको व्यवस्थागरि उनीहरुलाई भोजनको प्रबन्ध मिलाइएको अधिकारीहरुले जनाएका छन् ।

सुरक्षाकर्मीहरुको तैनाथी त्यहाँ रहेपनि राती १९ जना मानिसले सुरक्षाकर्मीलाई छलेर गन्तव्य तर्फ गएको बुझिन्छ ।तर उनीहरुको स्वास्थ्य परीक्षण नभएको र भारत तर्फ जाने अवस्था समेत नभएकाले नेपालकै कुनै टोल बस्तीमा लुकेको हुन सक्ने अनुमान गरिएकोछ ।

उनीहरुलाई बस्ने र खाने व्यवस्था हनुमाननगर कंकालिनी नगरपालिकाले गरेको हो ।मेयर शैलेस साहले क्वारेन्टाइनमा रहेकाहरुको भोजन, स्वास्थ्य परीक्षण र समुचित वासको प्रबन्ध मात्र नगरपालिकाले गरेको बताए ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक तिलक भारतीले बुधवार रातीको गणनामा ७२ जना नै रहेको तर बिहीबार बिहान गन्दा ५३ जना मात्र पुगेपछि अन्य मानिस नरहेको जानकारी प्राप्त भएको बताए ।

इलाका प्रहरी कार्यालय भारदहले क्वारेन्टाइनको सुरक्षादिदै आएको थियो । नेपाल प्रहरीका अतिरिक्त सशस्त्र प्रहरीको टोलीपनि त्यहा खटाइएको थियो ।

घटनापछि शुक्रवार बिहान इलाका प्रहरी कार्यालय भारदहका ईञ्चार्ज प्रहरी नायव निरीक्षक(सई) सागिर राइन सहितको टोलीलाई जिल्लामा तानिएकोछ । उनीहरुलाई जिल्लामा ल्याएर घटनाको सोधखोज भइरहेकोे स्रोतले जनाए ।

सीमावर्ती क्वारेन्टाइनबाट मानिसहरु हराउने यो पहिलो घटना होइन् ।क्वारेन्टाइनबाट भागेर सीमा पार गर्ने दुवै तर्फ देखिएकोछ ।सीमामा कडाई गरिएको प्रहरीले दावी गरेपनि अझै आउजाउ जारी रहेको देखिन्छ ।सीमामा सशस्त्र प्रहरीको बीओपी आधी किलोमिटरमा राखिएको छ ।तर दर्जनौको संख्यामा मानिसहरु नेपाल र भारत आउजाउ गरिरहेका छन् ।

Comment


Related News

Latest News

Trending News