२०८३ जेष्ठ ५, मंगलवार १७:२५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदिश खरेलले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरूले मुलुकमा ३५ वर्षदेखिको बेथिति सुधार गर्ने संकल्प बोकेको बताएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यसले आगामी १५ देखि २० वर्षसम्मका लागि आर्थिक समृद्धिको स्पष्ट मार्गचित्र ‘प्याराडाइम सिफ्ट’ तयार गरेको दाबी गरे।

सांसद खरेलले प्रस्तुत सिद्धान्त र प्राथमिकताले जनआन्दोलनको म्यान्डेट, रास्वपाको १०० बुँदे बाचापत्र र ५ बुँदे करारनामालाई आत्मसात् गरेको उल्लेख गरे।

खरेलले विशेषगरी जेनजी पुस्ताले उठाएका सुशासन, रोजगारी, डिजिटल नेपाल, भौतिक पूर्वाधार र कनेक्टिभिटीका मुद्दाहरूलाई यसले समेटेको बताए।

उनले सुशासन, आर्थिक पुनर्संरचना, एकीकृत पूर्वाधार, सामाजिक उन्नयन र सौम्य शक्ति निर्माणका पाँचवटा सैद्धान्तिक खम्बाहरूले सक्षम र न्यायपूर्ण नेपाल निर्माणमा मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे।

छलफलका क्रममा उनले मुलुकको वर्तमान आर्थिक अवस्था र ढुकुटीको स्थितिका बारेमा अर्थमन्त्रीको ध्यानाकर्षण समेत गराए।

सांसद खरेलले नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई धन्यवाद दिँदै यो विनियोजन विधेयकले निजी क्षेत्रको आत्मविश्वास पुनस्र्थापना गर्ने र लगानीमैत्री वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरे।

उनले रोजगारी केन्द्रित आर्थिक वृद्धि, संरचनागत सुधार र प्रविधिमैत्री सार्वजनिक सेवा प्रवाहका माध्यमबाट नागरिकको जीवनस्तरमा गुणात्मक सुधार ल्याउन यो दस्तावेज कोसेढुङ्गा सावित हुने जिकिर गरे।

Comment


Related News

Latest News

Trending News