नेपाल–भारतको सीमावर्ती क्षेत्रमा बढ्दो तस्करी, लागूऔषध कारोबार र सीमा अपराध नियन्त्रणबारे दुवै देशका सुरक्षा तथा प्रशासनिक अधिकारीबीच छलफल भएको छ ।
भारतको सीतामढीमा शनिबार भएको नेपाल–भारत सीमा सुरक्षा तथा समन्वय सम्बन्धी भएको बैठकमा तस्कर, लागूऔषध र डुबान बारे छलफल भएको छ । यस बैठकमा भारततर्फ हुने मदिरा तस्करी नियन्त्रण र नेपालतर्फ हुने लागूऔषध ओसार पसार रोकथामका विषयमा गम्भीर छलफल भएको जनाइएको छ ।
यस बैठकमा सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, सुरक्षा निकायबीच सूचना आदान–प्रदानलाई प्रभावकारी बनाउने तथा संयुक्त समन्वय र सहकार्यलाई थप सुदृढ गर्ने विषयमा दुबै पक्षबीच सहमति बनेको बताइएको छ । मधेशमा वर्षेनि हुने गरेको डुबान समस्याबारे पनि छलफल भएको छ ।
भारतीय पक्षले सीमाक्षेत्र मिचेर निर्माण गरिरहेको बाँधका कारण गौरसहित करिब एक दर्जन सीमावर्ती गाउँ डुबानको उच्च जोखिममा परेको भन्दै नेपाली पक्षले तत्काल समाधानको माग गरेको सो बैठकमा सहभागी भएका रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश भुसालले जानकारी दिए । नेपाल–भारत सीमामा वर्षौँअघि निर्माण गरिएको बाँधमा रहेको स्लुइस गेट बन्द गरी पछिल्लो समय तटबन्ध विस्तार गर्ने क्रममा पानी निकासको संरचनासमेत पुरिएको भन्दै नेपाली अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् ।
पानी निकास अवरुद्ध हुँदा सीमावर्ती नेपाली भू–भाग तालजस्तै बन्ने खतरा बढेको उल्लेख गर्दै तत्काल स्लुइस गेट सञ्चालनमा ल्याउन आग्रह गरिएको एक अधिकारीले बताएका छन् । नेपाल–भारत सीमावर्ती क्षेत्रका सुरक्षा तथा प्रशासनिक अधिकारी बीचमा भएको छलफलको अगुवाइ नेपालको तर्फबाट महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी भएका थिए भने भारतीय उच्च सुरक्षा अधिकारीहरूको पनि सहभागिता रहेको थियो ।

