अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसनजिकै तैनाथ सुरक्षाकर्मीमाथि शनिबार साँझ गोली चलाएको घटनामा एक बन्दुकधारीको मृत्यु भएको छ ।
अमेरिकी सिक्रेट सर्भिसले प्रहरी अधिकारीहरूले जवाफी कारबाहीमा गोली चलाउँदा शंकास्पद व्यक्तिलाई लागेको र उनलाई स्थानीय अस्पताल पुर्याइएकामा पछि मृत्यु भएको जनाएको छ ।
सिक्रेट सर्भिसका अनुसार, घटनामा कोही अधिकारी घाइते भएका छैनन् । त्यहाँ उपस्थित एक सर्वसाधारणलाई पनि गोली लागेको थियो । तर, ती पीडितको स्वास्थ्य अवस्थाबारे कुनै जानकारी दिइएको छैन ।
नाम नखुलाउने सर्तमा एक सुरक्षा अधिकारीले पत्रकारलाई बताएअनुसार, ती शंकास्पद व्यक्ति मानसिक रूपमा विचलित र उनलाई यसअघि नै टाढा बस्ने आदेश जारी गरिएको थियो ।
गोलीबारीको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्रै थिए । आक्रमणको निसाना उनी नै थिए वा थिएनन् भन्ने खुल्न सकेको छैन ।
ट्रम्पले शनिबार साँझ नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै आफू इरानसँगको एउटा सम्झौतालाई अन्तिम रूप दिन ओभल अफिसमा काम गरिरहेको बताएका थिए ।

