सरकारले सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले अघिल्लो सरकारले गठन गरेको सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्ने गरेको हो । २०८२ माघ २ गते सुशीला कार्की नेतृत्वको सरकारले उच्च अदालतका पूर्व न्यायाधीश विनोद प्रसाद शर्माको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको थियो ।
त्यस्तै बैठकले आगामी आर्थिक बर्षका लागि मोटो धानको रु ३६६० प्रति क्विन्टल र मध्यम धानको रु ३८६० प्रति क्विन्टल न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरेको छ भने नेपाल–चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमे केरूङको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले बताउनुभयो ।
उहाले रास्वपा सभापति भारत जाने बिषय प्रधानमन्त्रीको भ्रमणसंग कुनै सम्बन्ध नरहेको बताउनुभयो ।
गणतन्त्र दिवसमा प्रधानमन्त्री किन बोल्न चाहनुभएन भन्ने प्रश्नमा प्रवक्ता पोखरेलले आवश्यकता अनुसार प्रधानमन्त्रीले गर्नुपर्ने ठाउँमा सम्बोधन गर्ने उल्लेख गर्नुभयो ।

