रौतहटमा गएराति आएको तीव्र हावाहुरीका कारण घर भत्किँदा एक महिलाको मृत्यु भएको छ भने विद्युत संरचनामा समेत ठूलो क्षति पुगेको छ ।
जिल्लाको वृन्दावन नगरपालिका–७ सखुअवा धमौरागढी टोल निवासी ३५ वर्षीया फुलकुमारी यादव आफ्नै घरमा रहेका बेला हावाहुरीका कारण घरको खावा ढलेर गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि गरुडास्थित बेटर अस्पताल पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतक यादवको घर काठ र बाँसबाट बनाइएको थियो । शव पोस्टमार्टमपछि परिवारलाई दाहसंस्कारका लागि बुझाइने इलाका प्रहरी कार्यालय गरुडा ले जनाएको छ ।
उता, हावाहुरीका कारण रौतहटको जिगडिया पेट्रोल पम्पदेखि बिर्ता चौक आसपास क्षेत्रमा रहेको चपुर–गौर ३३ केभी विद्युत लाइनमा समेत ठूलो क्षति पुगेको छ । नेपाल विद्युत प्राधिकरण गौर वितरण केन्द्रले सार्वजनिक गरेको सूचनाअनुसार ३ वटा विद्युत पोल भाँचिएका छन् भने १० वटा पोलबाट तार झरेका छन् ।
प्राधिकरणले विद्युत लाइन मर्मतका लागि प्राविधिक कर्मचारीहरू फिल्डमा खटिसकेको जनाएको छ । क्षतिग्रस्त पोल तथा तार मर्मत सम्पन्न भएपछि मात्रै विद्युत सेवा पुनः सञ्चालन गरिने जानकारी दिइएको छ ।
हावाहुरीबाट विद्युत संरचनामा ठूलो क्षति पुगेकाले गौर तथा आसपासका क्षेत्रमा आज दिनभर पटक–पटक विद्युत अवरोध हुन सक्ने अनुमान गरिएको छ । विद्युत सेवा अवरुद्ध भएपछि स्थानीयवासी, व्यवसायी तथा सर्वसाधारणलाई दैनिक कामकाजमा समस्या भएको छ ।
प्राधिकरणले मर्मत कार्य तीव्र रूपमा भइरहेको जनाउँदै सेवाग्राहीलाई धैर्य गर्न आग्रह गरेको छ ।

