२०८३ जेष्ठ १३, बुधबार ०७:४२

लामो समयदेखि आफ्ना माग बेवास्ता गरिएको भन्दै मधेश आन्दोलनका शहिद परिवार तथा घाइतेहरूले मधेश प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।

माग पूरा नभए जेठ १९ गतेदेखि कडा आन्दोलन गर्ने चेतावनी समेत उनीहरूले दिएका छन् । प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णलाई मधेशी शहिद एवं घाइते हकहित संघर्ष समितिले बुझाएको ज्ञापनपत्रमा मधेश आन्दोलनका क्रममा ज्यान गुमाएका शहिद परिवार र घाइतेहरूको अवस्था अझै पनि दयनीय रहेको भनिएको छ ।

समितिका अध्यक्ष अवधेश प्रसादले आन्दोलन र बलिदानको उपलब्धिका रूपमा स्थापित प्रदेश सरकारले पटक– पटक ध्यानाकर्षण गराउँदा पनि आफ्ना मागप्रति बेवास्ता गरेको आरोप लगाएका छन् । ज्ञापनपत्रमा शहिद परिवार तथा घाइतेहरूको सम्मान, रोजगारी, शिक्षा, स्वास्थ्य सेवा र आर्थिक सहुलियतसँग सम्बन्धित विभिन्न मागहरू समावेश गरिएको छ ।

समितिले प्रत्येक शहिद तथा घाइते परिवारबाट एक जनालाई रोजगारीको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य बिमा उपलब्ध गराउनुपर्ने तथा शिक्षामा छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने माग राखेको छ । त्यसैगरी ‘मधेशी शहिद तथा घाइते प्रतिष्ठान’ लाई स्वायत्त संस्था घोषणा गर्नुपर्ने, परिचयपत्र उपलब्ध गराउनुपर्ने र बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ । विगतका आन्दोलनका घाइते तथा संघर्षमा सहभागीहरूको योगदानलाई राज्यले अझैसम्म उचित मूल्यांकन नगरेको गुनासो समेत उनीहरुको रहेको छ ।

Comment


Related News