अदालतले पक्राउ पुर्जी जारी गरेको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह बुधबार बिहान पर्सा जिल्ला अदालतमा अचानक पुगेर तत्कालै लुप्त भएका छन् । उनीमाथि जन्मदर्ता, नागरिकता, राहदानी लगायतको सरकारी कागजात किर्ते जालसाजी गरेको अभियोग लागेको छ ।
अदालत खुल्नुअघि नै दलबलसहित अदालत परिसर पुगेका मेयर सिंहले उन्मुक्तिको प्रयास गरे । तर मुद्दाको चाप र बहस, बयानमा ढिला भए मेयर सिंहलाई चार दिन थुनामा रहन पर्न सक्थ्यो । अदालतको प्रक्रिया प्रारम्भ हुनु अगावै परिसरमा पुगेका सिंहले भिडियो र फोटोहरु सामाजिक सञ्जालमा सार्वजनिक समेत गरे ।
अदालतको कर्मचारीसितको छलफलपछि मेयर सिंह परिसरबाट नै लुप्त भए । मंगलबार पर्सा जिल्ला अदालतले नागरिकता लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि मेयर सिंह, उनकी कान्छी श्रीमती भनिएकी रिता भट्टराई तथा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउ पुर्जीको सूचना सार्वजनिक भएपछि बुधबार बिहान करिब ९ बजे अदालत नखुल्दै मेयर सिंह अदालत परिसरमा पुगेको फोटो तथा भिडियो उनका सचिवालयमार्फत सार्वजनिक गरिएको थियो । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा मेयर सिंह आफ्ना कानुनी सल्लाहकार अधिवक्ता कमलमोहन पोखरेलसहित अदालत परिसरमा घुमिरहेको देखिन्छ ।
तर अदालत खुल्नुअघि नै पुगेका मेयर सिंह केहीबेरमै अदालत परिसरबाट लुप्त भए । मेयरविरुद्ध मुद्दा दायर गरेका लियाकत अली पनि सामाजिक सञ्जालमा भिडियो देखेपछि आफ्ना सहयोगीसहित अदालत पुगेका थिए । अलीका अनुसार अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकसँग बुझ्दा ‘अदालत खुल्नुअघि को आउँछ, को जान्छ भन्ने विषयमा अदालत जिम्मेवार नहुने’ जवाफ दिइएको थियो ।
अलीले भने मेयर सिंह श्रेस्तेदार मल्लिकको कोठामा बसेर छलफल गरेको र त्यसपछि समर्थकसहित बाहिरिएको जानकारी आफूले पाएको दाबी गरेका छन् । अदालतबाट वाण्टेड रहेका सिंह अदालत परिसरमा पुगेर बेपत्ता हुँदापनि प्रहरीले उनलाई पक्राउ गर्न सकेन । पर्साका प्रहरी उपरीक्षक-एसपी) सुदीपराज पाठकले सामाजिक सञ्जालमा भिडियो देखिएपछि मुद्दाफाँटका प्रमुख प्रहरी निरीक्षक शैलेन्द्र खड् कालाई मेयर सिंहलाई नियन्त्रणमा लिन अदालत पठाइएको बताए। तर प्रहरी पुग्दासम्म मेयर सिंह अदालत परिसरबाट बाहिरिसकेको उनले जनाए ।
अदालतको सुरक्षार्थ पनि नेपाल प्रहरीको टोली तैनाथ रहेको हुन्छ । एसपी पाठकले तत्काल उनलाई निर्देशन दिएर मेयर सिंहलाई अदालत बाहिर नियन्त्रणमा लिन सक्थ्यो । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर २ का सभापति मोहम्मद सहाबुद्दिनले ‘सिंह कानूनभन्दा माथि रहेको सन्देश प्रवाह भएको’ आरोप लगाएका छन् । सिंहले गरेको किर्ते जालसाजी बिरुद्ध उजुरीकर्ता मध्येका एक हुन् । नेपाल बार एसोसिएसनका पूर्व केन्द्रीय उपाध्यक्ष अधिवक्ता विनय सिंहले सरकारी वकिल कार्यालयले मुद्दामा मेयर सिंह र रिता भट्टराईको नाम लुकाउने प्रयास गरेको आरोप लगाउँदै त्यसलाई ‘गैरकानूनी र शंकास्पद’ बताएका छन् । उनले भने, ‘यो देशमा प्रधानमन्त्रीको नाम मुद्दामा लुकाइँदैन भने मेयरको नाम किन लुकाइयो ? यसले दालमा केही कालो भएको संकेत गर्छ ।’ नेपाल बार एसोसिएसन पर्साका अध्यक्ष रामनारायण कुर्मीले पनि सम्पूर्ण घटनाक्रमले कानूनी राज्यको धज्जी उडाएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
उता मेयर सिंहले भने आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको जानकारी सञ्चारमाध्यमबाट पाएपछि न्यायिक प्रक्रियामा सहयोग गर्न स्वेच्छाले अदालत पुगेको दाबी गरेका छन् । उनका स्वकीय सचिव सत्यराज घिमिरेका अनुसार अदालतमा मुद्दाको चाप अत्यधिक भएकाले बुधबार सुनुवाइ हुन नसक्ने जानकारी अदालत प्रशासनले दिएपछि मेयर सिंह फर्किएका हुन् । मेयर सिंहले अदालत प्रशासनसँग समन्वयमै रहेको र सार्वजनिक बिदापछि पुनः उपस्थित हुने जानकारी गराएर फर्किएको बताएका छन् ।
मुद्दामा मेयर सिंहले रिता भट्टराईकी छोरी रुविना श्रेष्ठलाई आफ्नै छोरी देखाई फर्जी जन्मदर्ताका आधारमा नागरिकता बनाएको आरोप छ । यद्यपि सिंहले रिता भट्टराई आफ्नो दोस्रो पत्नी भएको दाबी गर्दै आएका छन् । सरकारी वकिल कार्यालयका अनुसार वीरगञ्ज–३ का लियाकत अलीले २०८० माघमा जिल्ला प्रहरी कार्यालय पर्सामा मेयर सिंहविरुद्ध सरकारी कागजात तथा नागरिकता किर्ते सम्बन्धी उजुरी दिएका थिए । सोही उजुरीका आधारमा चारवटा मुद्दा दर्ता भएको र लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरिएको अदालत स्रोतले जनाएको छ ।
मेयर सिंहले अदालतका कर्मचारीको समन्वयमा नै विदापछि हाजिर हुने सार्वजनिक अभिव्यक्ति दिएपछि अदालतका कर्मचारीमाथि समेत प्रश्न उठेको छ । अदालतले नै पक्राउ पुर्जी जारी गरेको व्यक्तिलाई कर्मचारीले नै ४ दिने विदापछि हाजिर हुन सल्लाह दिनाले प्रश्न उठेको छ ।

