२०८३ जेष्ठ १४, बिहीबार ०७:५५

भूमाफियाहरुले भगवान श्री सीतारामको नाममा रहेको जग्गा कब्जा गरी अवैध रुपमा बिक्री वितरण गरेको प्रकरणमा छानबीन समितिले प्रतिवेदन बुझाएको तीन दिन बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन ।

जनकपुरधाम उपमहानगरपालिका ४ नापी कार्यालय धनुषा अगाडि भगवान श्री सीतारामको नाममा रहेको जग्गा किर्ते जालसाजी गरी कब्जा गरेर अवैध रुपमा खरीद बिक्री ठहर गर्दै थप तथा विस्तृत छानबीनका लागि नियामक निकायबाट गराउने प्रतिवेदनमा भनिएपनि तीन महिना बितिसक्दा पनि कार्यान्वयनमा आउने सकेको छ ।

प्रतिवेदनमा प्रष्ट रुपमा भनिएको छ — वि.सं. २०२६ सालको सर्वे नापीमा चर्तुभुज लाल कायस्तले भगवानको मूर्ति स्थापना गरी कर्णले मालिक भगवान श्री सीताराम रहने गरी आफू रेखदेख गरी जग्गा नापनक्सा गराएको र २०४१ सालमा सो जग्गा मालपोत कार्यालयबाट पारित गराएको र पछि आफ्नो भाई चन्द्रनारायण लाभ कायस्तलाई रेखदेखको जिम्मा दिएको थियो ।

पछि त्यो जग्गाहरु चतर्भुज लाभ कायस्तका छोरा सुरेन्द्र कुमार लाभले किर्ते जालसाजी गरी आफ्नो संरक्षक बनेर अवैध रुपमा खरीद बिक्री गरेको हो । प्रतिवेदनको पांचौ नम्बर बुँदामा शहरी नापी -२०४४/०४५) अनुसार साविक जनकपुर न.पा. वडा नं.४ ख कि.नं.१६६ मध्ये हाल जनकपुर न.पा. वडा नं.४ सिट नं.१३९६–१८ कि.नं.५ को ०–२–५–० पोखरी र ऐ.ऐ. को सिट नं. १३९६–१७ कि.नं.६० को ०–०–१९–२ र ऐ.ऐ.सा.कि.नं.१४४ मध्ये हाल जनकपुर न.पा. बंडा नं.४ सिट नं. १३९६–२२ कि.नं.५७ को ०–९–१९–२ जग्गा मालिक श्री सिताराम मार्फत चन्द्र नारायण लाभ कायस्तको नाउँमा जग्गाधनी दर्ता स्रेस्ता रहेको छ ।

सोही जग्गाको मालिक श्री सिताराम मार्फत सुरेन्द्र कुमार लाभको नाउँमा मिसिल नं. ७१४ मिति २०७५/०९/१३ बाट नामसारी गर्ने क्रममा स्रेस्तामा फोटो अप्रमाणित फोटो टाँस, ना.प्र.नं. कायम गरिएको कैफियत काटिएको, रातो मसिले संकास्पद लेखिएको भनि मोठ फाँटबाट मोठ भिडेको अवस्थामा पनि नामसारी निर्णय भएको देखिन्छ ।

सुरेन्द्र आफू संरक्षक भएपछि २०७६/०२/०२ का दिन सिट नं. १३९६– १७ कि.नं.६० को ०–०–१९–२ पोखरी डिल र ऐ.ऐ.सिट नं.१३९६–१८ कि.नं. ५ को ०–२–५–० पोखरी प्रमिला देवी यादव रंजेश कुमार सिंह, पुष्पान्जली कुमारी साह, विजय कुमार सुनरैत यादव समेतको नाउँमा अवैध रुपमा बिक्री गरी दर्ता गरिदिएको हो ।

सो जग्गामा पोखरी र पोखरीको डिल रहेको थियो । ती पोखरी पुरेर आ आफ् ना श्रीमतिको नाममा जग्गा खरीद गरेका एजुकेश प्वाईन्ट बोर्डिङ्ग स्कूलका सञ्चालक सुकेश्वर यादव र श्रीराम जानकी कोचिङ्ग सेन्टरका सञ्चालक गणेश साहले त्यसमा छात्रावास निर्माण गर्न लाग्दा जनकपुर टुडे सहितका विभिन्न सञ्चार माध्यमले समाचार बाहिर ल्याउंदा घटना सार्वजनिक भएको थियो ।

घटना सार्वजनिक भए लगतै जिल्ला प्रशासन कार्यालयद्वारा मालपोत कार्यालयका अधिकृत सिंहलाल स्याङवाको संयोजकत्वमा नापी कार्यालयका प्रमुख उमेश साह र गुठी संस्थान धनुषाका प्रमुख किशोर कुमार झा सदस्य रहने गरी तीन सदस्यीय छानबीन समिति गठन गरिएको थियो ।

सो समितिले गरेको छानबीनमा वडा नं.४ कै पिडरिया माई मन्दिर नजिक रहेको सिट नं. १३९६–२२ कि.नं. ५७ को ०–९–१९–२ जग्गा सुरेन्द्रले आफू संरक्षक भई २०७६/०२/०१ गते दिन अवैध रुपमा बिक्री गरी रूनी देवी यादव, रोशन यादव पुष्पान्जली कुमारी साह पुनम कुमारी समेतको नाममा दर्ता गरिदिएको फेला परेको थियो ।

हाल सो जग्गा गणेश साह सञ्चालक रहेको श्री रामजानकी कोचिङ्ग लगायतका शैक्षिक संस्थाहरु संचालनमा रहेको छ । तीन महिना बितिसक्दा पनि अहिलेसम्म प्रतिवेदन के कति कारणले कार्यान्वयनमा नआएको बारे प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले भने ‘प्रतिवेदनमा उल्लेख भए अनुसार थप तथा विस्तृत अनुसन्धानका लागि नापी र मालपोत कार्यालयलाई सोही बेला भनिसकेको र उहाँहरुले आ आफ्नो माथिल्लो निकायमा पत्राचार गरिसकेको आफूलाई जानकारी गराइएको हो । माथिल्लो निकायले कहिलेदेखि छानबीन थाल्ने ती कुरा उहाँहरुसँग नै सोध्नु ।’

यता मालपोत कार्यालयका प्रमुख सरुवा भइसकेको कारण सम्पर्क हुन सकेको छैन भने नापी कार्यालय धनुषाका प्रमुख उमेश साहले यस सम्बन्धमा अमिन प्रदीप साहलाई थाहा होला भनेर पल्ला झारेका छन् । अमिन साहलाई पटक पटक फोन गर्दा सम्पर्क हुन सकेन । श्रोतका अनुसार मालपोत र नापी कार्यालयबाट कुनै प्रक्रिया अघि नबढाइएको बुझिएको छ ।

Comment