मधेश प्रदेशको राजधानी जनकपुरधाममा एक मात्र रहेको कभर्ड हल अहिले जिर्ण अवस्थामा पुगेको छ ।
हलको माथिल्लो भाग गरिएको सिलिङ विभिन्न ठाउँमा टुटफुट भइकसेकाले दुर्घटनाको जोखिम बढेको छ । गत साता ‘खेली मधेश, जिती मधेश’ भन्ने मूल नारासहित हालै सुरु गरिएको प्रदेशस्तरीय खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो ।
हलको छत चुहिने, सिलिङ झर्ने तथा हावाहुरीका कारण संरचनामा थप क्षति पुगेपछि खेल गतिविधि जोखिमपूर्ण बनेको खेलाडीहले बताएका थिए । हालै यही हलमा कराते प्रतियोगिताको डेमो खेलसमेत सञ्चालन गरिएको थियो । खेलाडी र प्रशिक्षकहरूले कुनै पनि बेला छतको सिलिङ खस्न सक्ने अवस्था रहेको भन्दै तत्काल मर्मतको माग गरेका छन् ।
उनीहरूका अनुसार हलको जीर्ण अवस्थाले खेलाडी घाइते हुने खतरा बढेको छ । तत्कालीन सामाजिक विकासमन्त्री सुरिता कुमारी साहको कार्यकालमा हलको छत निर्माणका लागि २५ लाख रुपियाँ बजेट विनियोजन गरिएको थियो । तर, निर्माणकै क्रममा आएको हावाहुरीले छतमा थप क्षति पु¥याएको थियो ।
अहिले पनि हुरीबतास आउँदा संरचना झन् कमजोर बन्दै गएको क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डे ‘गुड्डु’ले जानकारी दिएका छन । उनले भने, ‘यस्तो अवस्थामा प्रदेशको राजधानीमा खेल सञ्चालन हुनु दुर्भाग्यपूर्ण हो । जुनसुकै बेला दुर्घटना हुन सक्छ ।’ मधेश खेलकुद परिषद् का सदस्य सचिव शिवजी साह कानुले पहिला राष्ट्रिय खेलकुद परिषदको अन्तर्गत संचालन हुने गर्दा के भयो मलाई थाहा छैन । तर मधेशमा परिषद गठन भएपछि चालु आर्थिक वर्षमै मर्मतसम्भारका लागि बजेट विनियोजन भइसकेको र ठेक्का प्रक्रिया समेत सम्पन्न भइसकेकाले चाँडै मरम्मत सम्भार प्रक्रिया अघि बढाइनेछ ।

