२०८३ जेष्ठ १५, शुक्रबार १७:३६

सरकारले फुटबलका १० र  क्रिकेटका ८ वटा आधुनिक रंगशाला बनाउने भएको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण शुक्रबार संसदमा प्रस्तुत गर्दै देशभरमा ८ हजार दर्शक क्षमताका १० वटा फ्लडलाइटसहितका फुटबल रंगशालाको स्तरोन्तती गरिने बताएका हुन्।

यस्तै देशका प्रमुख ८ शहरमा पाँच वर्षभित्रमा आधुनिक क्रिकेट रंगशाला पनि बनाइने भएको छ।

विराटनगर, लहान, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा कम्तिमा दुई हजार क्षमताको इन्डोर मल्टिपर्पोज रंगशाला आगामी तीन वर्षभित्र निर्माण गर्न पनि बजेट छुट्याएको छ।

मुलपानी क्रिकेट रंगशाला तथा एकेडेमी, विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र  कैलालाकी फाप्लाको निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गरिने भएको छ।

खेलकुदमा विशेष रुची भएका विद्यार्थीलाई विद्यालयको आधारभूत तयदेखि छनोट गरी आवासीय सुविधासहित तालिम दिने व्यवस्था मिलाइने भएको छ।

अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकासपछि सम्मानजनक जीवनका लागि आजीवन नि:शुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइने भएको छ।

सुर्खेतमा हुने दशौं राष्ट्रिय खेलकुद र मधेशमा प्रस्तावित एघारौं राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माणका लागि रकम विनियोजन गरिएको छ।

आगामी आर्थिक वर्षका लागि खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट छुट्याइएको छ। चालु  आर्थिक वर्षमा ६ अर्ब ८ करोड बजेट थियो। यद्यपी यो बजेट युवासहितको थियो।

Comment


Related News

Latest News

Trending News