२०८३ जेष्ठ १७, आईतवार ०७:२२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा विवादका कारण अधिकांश पालिकामा अधिवेशन हुन सकेको छैन । आगामी असार ७ गतेदेखि हुने पार्टी महाधिवेसनका लागि जेठ १७ गतेभित्र पालिका अधिवेशन सकिसक्नुपर्ने रास्वपाको कार्यतालिका छ । मधेस प्रदेशकै दर्जनौँ पालिकामा विवाद छ ।

विवादका कारण पार्टीले घोषणा गरेको कार्यतालिका अनुसार अधिवेशनमा ढिलाइ भइरहेको बताइएको छ । गएको शनिबार रास्वपाको बारा जिल्ला अधिवेशनमा विवाद भयो । एकपक्षीय ढंगले जिल्ला कार्यसमिति गठन गर्न लागेको आरोप लगाउँदै एउटा समूहले विरोध गरेको थियो । विवादपछि झगडा हुन थालेपछि पार्टीका प्रतिनिधिसभा सदस्यहरूलाई प्रहरीको सहारा लिनुप¥यो । वैशाख २७ गते बारा जिल्ला कार्यसमिति केन्द्रीय समितिले विघटन गर्दै केहीलाई निष्कासित गरेका थिए । निष्कासित पक्षधरहरूले विरोध गरेको आरोप प्रतिनिधिसभा सदस्य रहबर अन्सारीले लगाउँदै आएका छन् । तर, अर्को पक्ष भने भुइँ तहमा काम गर्ने पार्टीका सक्रिय सदस्यहरूलाई …बाइपासÚ गरेर अधिवेशन गर्न खोज्दा आपत्ति जनाएको स्पष्टीकरण दिँदै आएका छन् ।

रास्वपा केन्द्रीय कार्यसमितिले बारामा जिल्ला कार्यसमिति गठन नगरी वडा र पालिका अधिवेशन गर्न निर्देशन दिइसकेको छ । महोत्तरीमा बिहीबार पालिका अधिवेशन हुँदै गर्दा विवाद भयो । जलेश्वर नगरपालिकामा आयोजित दुईजना आकांक्षी छन् । अजय साह र विनय राय दुवै जलेश्वर नगरपालिका सभापति पदका आकांक्षी हुन् । एक पक्षले सर्वसम्मत् सभापति चयन हुनुपर्ने अडान लिएको थियो भने अर्को पक्षले निर्वाचनबाट सभापति चयन हुनुपर्ने जिकिर गरेका थिए । धनुषामा पनि विवादकै कारण १८ मध्ये चार पालिकामा मात्र अधिवेशन भएको छ ।

रास्वपा धनुषा सभापति लक्षमेश्वर यादवका अनुसार मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, क्षीरेश्वरनाथ नगरपालिका र लक्ष्मीनियाँ गाउँपालिकामा मात्र अधिवेसन हुन सकेको छ । धनुषाधाम नगरपालिकामा जेठ ९ गते नै अधिवेशनको मिति तोकिएको थियो । तर, विवाद हुँदा अधिवेशन हुन नसकेको सभापति यादवले बताए । उनका अनुसार शुक्रबार तदर्थ समिति बनाएर अधिवेशन हुन्छ । यहाँ पनि दुई समूह छन् । हाल पालिका संयोजक राजकुमार ठाकुर र अर्को जेनजी उमेरका युवा सभापतिका आकांक्षी छन् । रास्वपा मधेस प्रदेश आरएटी विभाग संयोजक अम्भुप्रसाद साहले पनि जिल्ला सभापतिले सबै पालिकामा एकलौटी गरिरहेको आरोप लगाएका छन् । सभापति यादवले अधिवेशनमा तानाशाही प्रवृत्ति देखाएको उनको गुनासो छ ।

सबै पक्ष र सक्रिय युवालाई बाइपास गरेको उनको भनाइ छ । राजनीतिक विषयका जानकार प्राध्यापक रामु साहले राजनीतिको मुख्य उद्देश्य नै पद प्राप्ति भएको बुझेपछि विवाद हुने गरेको तर्क दिइरहेका छन् । रास्वपामा देखिएको विवाद शक्तिका लागि रहेको उनको टिप्पणी छ ।

Comment


Related News