वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहका स्वकीय सचिव सत्यराज घिमिरेलाई प्रहरीले सोमबार पर्सा जिल्ला अदालत परिसरबाट पक्राउ गरिएको छ ।
सादा पोसाकमा खटिएको प्रहरी टोलीले घिमिरेलाई पर्सा जिल्ला अदालत परिसरबाटै नियन्त्रणमा लिएर पर्सा प्रहरी कार्यालय वीरगञ्जको जिम्मा लगाएको छ।
राजेशमान सिंह लुकेको स्थानबारे थाहा पाउनका लागि घिमिरेलाई नियन्त्रणमा लिएर बुझ्ने कार्य गरिएको पर्सा प्रहरीले जनाएको छ।
फरार रहेका वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंहलाई सोमबार अदालतमा हाजिर गराउनका लागि स्वकीय सचिव घिमिरे सोमबार बिहान १० बजेतिर पर्सा जिल्ला अदालतमा पुगेका बताइएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमानका स्वकीय सचिव घिमिरेसँग केही कुरा बुझ्नका लागि प्रहरी कार्यालयमा ल्याइएको बताएका छन्। जिल्ला प्रहरी कार्यालयमा ल्याइएका घिमिरेसँग सम्बन्धित विषयमा सोधपुछ भइरहेको बस्नेतले बताए।
पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका राजेशमान सिंहले प्रहरी प्रशासनलाई चुनौती दिँदै कानुनी राज्यको खिल्ली उडाउँदै हिँडेका छन्।

