प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको काम कारवाहीको निगरानी गर्न छाया सरकार गठन गरेको छ । पार्टी संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको नेतृत्वमा कांग्रेसले १८ सदस्यीय छाया सरकार गठन गरेको हो ।
सांसदहरूलाई प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको जिम्मेवारी पनि तोकेको छ । संसदीय दलका नेता आङ्देम्बेलाई ‘छाया प्रधानमन्त्री’ तोकेको कांग्रेसले बाँकी १७ वटै मन्त्रालयमा छाँयामन्त्री बनाएको छ । विपक्षीमा पुगेपछि कांग्रेसले विगतमा पनि छाया सरकार गठन गर्ने गरेको थियो । तर त्यसले प्रभावकारी काम गर्न सकेको थिएन ।
गएको फागुन २१ मा भएको चुनावबाट प्रतिनिधिसभामा कांग्रेस ३८ सिटमा खुम्चिएको छ । यसअघि केपी शर्मा ओलीको नेतृत्वमा नेकपाको सरकार हुँदा कांग्रेसले बनाएको छाया सरकारको नेतृत्व पार्टीका तत्कालीन सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले गर्नुभएको थियो ।

