२०८३ जेष्ठ १९, मंगलवार १९:१६

भारतको विदेश मन्त्रालयले नेपाल-भारतबीचको सीमा सम्बन्धी विषयलाई दुवै देशबीचको स्थापित द्विपक्षीय संयन्त्रमार्फत नै समाधान गरिने स्पष्ट पारेको छ।

नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सीमांकन कार्य करिब ९८ प्रतिशत पूरा भइसकेको जानकारी दिँदै बाँकी रहेका प्राविधिक तथा विवादित विषयहरू पनि आपसी संयन्त्रकै माध्यमबाट टुंगो लगाइने बताए।

उनका अनुसार गण्डक नदीको धार परिवर्तनका कारण केही स्थानमा सीमांकनसम्बन्धी प्राविधिक जटिलता देखिएको छ। त्यस्तै, पहिले नै सीमांकन भइसकेका केही क्षेत्रमा आवागमन तथा दशगजा क्षेत्रमा देखिएका अतिक्रमणका घटनाबारे दुवै पक्षले संयुक्त रूपमा अध्ययन तथा नक्सांकन गरिरहेको उनले उल्लेख गरे।

नेपालका प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रालयका पछिल्ला अभिव्यक्तिबारे गरिएको प्रश्नमा प्रवक्ता जयसवालले सीमा मामिला पूर्ण रूपमा दुई देशबीचको विषय भएको उल्लेख गर्दै यसमा कुनै तेस्रो पक्षको भूमिका नहुने स्पष्ट पारे।

उनले नेपाल-भारत सम्बन्ध ऐतिहासिक, राजनीतिक तथा जनस्तरमा समेत गहिरो रहेको उल्लेख गर्दै हाल भइरहेका उच्चस्तरीय भ्रमण र भेटवार्ताले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाइरहेको धारणा व्यक्त गरे।

Comment


Related News

Latest News

Trending News