अपडेट 
२०७७ बैशाख २८, आईतवार ०८:०८

काठमाण्डु ।कोरोना भाइरस संक्रमण शनिवार थप ७ जनामा पुष्टि भएपछि संक्रमितको कुल संख्या १ सय ९ पुगेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमितको संख्या अघिल्लो दिनको भन्दा ७ जना बढेको जनाएकोछ ।

उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा १ जना नयाँ सङ्क्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय प्रयोगशाला टेकु र कोशी अस्पताल, विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणअनुसार नयाँ सङ्क्रमित पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उदयपुरको भुल्के निवासी १८, ४५ र ६५ वर्षका महिला, कपिलवस्तुमा १७ , १८ र १८ वर्षका पुरुष तथा पर्साको छपकैयामा ६२ वर्षका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएकोे छ । हालसम्म प्राप्त विवरणअनुसार सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमै रहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

हाल सम्म पुष्टि भएको १ सय ९ संक्रमित मध्ये प्रदेश नम्बर १ मा सर्वाधिक ३४ जना संक्रमित देखिएका छन् ।त्यसैगरि दोस्रो नम्बरमा प्रदेश नम्बर २ मा ३१ जना छन् । त्यसैगरि प्रदेश नम्बर ५ मा ३० जना संक्रमित रहेको पुष्टि भएकोछ । बागमती प्रदेशमा ७, सुदूरपश्चिम प्रदेशमा ५ र गण्डकी प्रदेशमा २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएकोछ । अहिलेसम्म ३१ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जनाए ।

कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत महिला ३५ दिनपछि डिस्चार्ज भएकी छन् । प्रदेश नम्बर १ र प्रदेश नम्बर ५ का बढी प्रभावित जिल्लाहरुमा नमुना संकलन कार्य सरकारले तिव्र पारेको छ ।पछिल्लो २४ घण्टामा १ हजार ७ सय ४१ वटा स्वाब परीक्षण भएका छन् । अहिलेसम्म पिसिआर विधिबाट १६ हजार ३ सय ९ र आरडिटी विधिबाट ५५ हजार ९ सय ३० जनाको कोरोना परीक्षण भएको छ ।

प्रदेश नम्बर १ मा ७ हजार ५५, प्रदेश नम्बर २ मा ५ हजार ८ सय ९० र बागमती प्रदेशमा ९ हजार १ सय ५ जनाको आरडिटी परीक्षण भएको छ । यस्तै गण्डकी प्रदेशमा ६ हजार ३ सय ७७, प्रदेश नम्बर ५ मा ६ हजार ६ सय ३८, कर्णाली प्रदेशमा ६ हजार १ सय ७४ र सूदुरपश्चिममा १४ हजार ६ सय ९१ आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताए ।

सरकारले कोभिड–१९ को संक्रमण फैलन नदिन पिसिआर परीक्षणको दायरालाई थप विस्तारगर्दै लैजाने भएको छ । मन्त्रालयका अनुसार पिसिआर परीक्षणका लागि हाल मौज्दातमा कूल ५० हजार पिसिआर किट रहेकाले दायरा विस्तार गर्न लागिएको हो ।

द्रूत परीक्षणलाई नियमितरुपमा अगाडि बढाइरहेको भए पनि पिसिआरका माध्यमबाट वस्तुगत विवरण प्राप्त हुने भएकाले दायरा विस्तार गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा देवकोटाले जनाए ।

सरकारले प्रदेश नं २ का रौतहट, बारा र पर्सा तथा प्रदेश नं ५ का जिल्लामा थप परीक्षण गर्ने गरी आवश्यक व्यवस्था मिलाइएको जनाएको छ । ती जिल्लामा नमूना सङ्कलनका लागि मन्त्रालयले टोली परिचालन गरिसकेको जनाएको छ । सो प्रदेशमा हालसम्म पछिल्ला तीन दिनमा ४सय पिसिआर परीक्षण गरिएको उल्लेख गर्दै प्रवक्ता डा देवकोटाले लगातार परीक्षण गरिने बताए ।

मन्त्रालयका अनुसार हाल कूल १४ हजार ५ सय ९२ जना क्वारेन्टाइनमा रहेका छन् । त्यसमा प्रदेश नं १ मा १ हजार ४ सय ८६, प्रदेश नं २ मा १ हजार ३ सय ५५, वाग्मती प्रदेशमा २ सय ९४, गण्डकी प्रदेशमा ४ सय ६३, प्रदेश नं ५ मा ५ हजार २ सय २८, कर्णाली प्रदेशमा २ हजार ४ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ३ सय ५१ क्वारेन्टाइनमा रहेका छन् ।

त्यसैगरि आइसोलेशनमा १ सय ४३ जना रहेका छन् । त्यसमध्ये काठमाण्डुमा २ जना र काठमाण्डु बाहिर १ सय ४१ रहेका छन् ।

Comment


Related News

Latest News

Trending News