नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत फागुनमा सम्पन्न भएको चुनावलाई तमासाको संज्ञा दिएका छन्।
पार्टीको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशाला उद्घाटन गर्दै ओलीले चुनावलाई नाटकको संज्ञा दिए।
उनले यो परिणाम आउँछ भन्ने पहिल्यै थाहा भएको बताए। त्यसैले आफूहरूले चुनावमा भाग नलिने भनेर सही नीति लिएको दाबी गरे। अरु दलका कारण चुनावमा जान बाध्य भएको बताए।
‘परिणाम स्वीकारेका छौँ। तर यसको अर्थ अन्धविश्वासमा छौँ भन्ने होइन। हामी सबै कुरा हेर्छौँ। समीक्षा गछौँ’, उनले भने।
ओलीले वर्तमान सरकार पूर्वाग्रहको पोको भएको जिकिर गरे । उनले वर्तमान सरकारले नयाँ र सेनाको सम्पत्ति छानबिन नगर्ने नीति लिएको भन्दै खाली आफू र पुराना पार्टीका मान्छेहरुलाई मात्रै फसाउन लागिपरेको बताए । उनले सम्पत्ति छानबिन आयोग बनाएर राज्यले छानिछानि फसाउन खोजेको बताए । यस्ता अयाोगलाई आफूले नमान्ने र बयान पनि नदिने बताए ।
‘अरुले बयान दिएपनि मचाहिँ बयान दिन्नँ । सम्पत्ति विवरण भरेर म पठाउँदिनँ, जेजे गर्न सक्छ गरोस् । यो राज्य राज्य होइन। यो पूर्वाग्रहको पोको हो,’ उनले भने ।
यस्ता क्रियाकलापमा राज्यलदाई नजान पनि उनले चेतावनी दिए । उनले प्रतिशोधन नभई संवैधानिक क्रियाकलापमा लाग्न समेत सरकारलाई सुझाव दिए ।

